साग फुटबल विजेता टिमलाई प्रधानमन्त्रीको बधाई

pmकाठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले १२ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा उपाधि जितेकोमा नेपाली राष्ट्रिय टिमलाई बधाई दिएका छन् ।

साग खेलकुदमा २३ वर्षपछि प्राप्त जीतले नेपालको शीर उचो बनाएको भन्दै प्रधानमन्त्रीले खेलाडी, प्रशिक्षक एवं खेलसँग सम्बन्धित सबै सरोकारवाला पक्षहरुलाई आफ्नो व्यक्तिगत तर्फबाट र सरकारको तर्फबाट बधाई दिएका हुन् । ‘नेपाली खेलाडीको यो विजय खेल इतिहासमा अनन्तकालसम्म स्मरणीय हुनेछ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रेस संयोजक चेतन अधिकारीले भने, ‘सरकारले खेलाडीको सम्मानमा कुनै कमी आउन दिने छैन ।’

प्रधानमन्त्रीले सागको महिला फुटबल टिम पनि फाइनलसम्म पुग्न सफल भएकोमा बधाई दिंदै आगामी दिनमा अझै राम्रो तयारी गर्न आग्रह गरेका छन् ।

साथै प्रधानमन्त्रीले सागमा स्वर्ण, रजत र कांस्य पदक विजेता खेलाडीलाई पनि प्रधानमन्त्रीले बधाई दिएका छन् ।