एनआरएनए महासचिव पदमा डा. पौडेलद्वारा उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचनमा महासचिव पदमा डा केशव पौडेलले उम्मेद्वारी दिने भएका छन् । यही असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुन लागेको आइसिसी सम्मेलनमा तनहुँका पौडेलले महासचिव पदमा उम्मेद्वारी दिन लागेका हुन् ।

उनी निर्वाचनमा भाग लिन हिजो बिहीबार काठमाडौं आइपुगेका छन् । उनले  सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पदमा उम्मेद्वार दिने घोषणा गरे । उनले आफ्नो अनुभवलाई आइसिसीमा लगानी गर्ने सामाजिक योगदानको चाहनालाई साकार पार्न महासचिवमा उम्मेद्वारी दिन लागेको बताए ।

डा पौडेलले एनआरएन विदेशमा बस्ने नेपालीको साझा संस्था भएकाले संस्थामार्फत विदेश र नेपालमा बस्ने नेपालीलाई आफूले सिकेको र जानेको कुराका माध्यमबाट सेवा र सहयोग गर्नका लागि उम्मेद्वारी दिएको उल्लेख गरे ।

उनले एनआरएन अमेरिकामा विदेशी नागरिकताको माग, विभिन्न छात्रवृत्ति दिने काम, मातृभूमिमा विपत्तिमा परेका बेला आर्थिक तथा भौतिक सहयोग, अमेरिकाभरि विभिन्न राज्यमा सामुदायिक भवन बनाउन सहयोग गरेकाले आफू महासचिवमा योग्य उम्मेद्वार भएको बताए ।

सन् २००५ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएका डा पौडेलले एनआरएन अमेरिका शाखामा दुई कार्यकाल नेतृत्व गरिसकेका छन् । तनहुँ व्यास नगरपालिका–९ सिस्नेरीमा जन्मेका डा पौडेल सन् २०१४ देखि अमेरिकाको न्यू मेक्सिकोस्थित लवलेस मेडिकल सेन्टरको मेडिकल निर्देशकका रुपमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *