कुल आचार्यले ल्याए ,नेपालीको पसिना सदुपयोग गर्न ‘पसिना फन्ड’

लण्डन। खाडी राष्ट्रहरु, मलेसिया, कोरिया लगायतका मुलुकमा काम गरिरहेका नेपालीहरुले गरेको ससानो बचत पनि नेपालको नवनिर्माणमा प्रयोग गर्न सकियोस भन्ने उद्देश्यले गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले एउटा कोष खडा गर्न प्रस्ताव गरेका छन् ।
“पसिना फन्ड” नामक सो कोषमा जम्मा भएको रकम नेपालको हितका साथै लगानीकर्तालाई पनि मुनाफा हुने गरी आकर्षक योजनामा लगानी गर्ने उनको योजना छ । “कोषको संचालन पारदर्शी र प्रभावकारी ढंगले गरिने छ । यसका लागि छुट्टै विनियमावली बनाएर, नेपाल सरकारसंग समन्वय गरेर मैले काम गर्ने छु,” एनआरएनएको केन्द्रीय अध्यक्ष पदका प्रत्यासी आचार्यले भने। स्वदेशमा रोजगारीको अभावका कारणले वैदेशिक रोजगारीका लागि नेपालका लाखौं युवाहरु विदेशमा कार्यरत रहेको र उनीहरुले रगत, पसिना बगाएर पठाएको विप्रेषणले देशको अर्थतन्त्र थेगेको उनले बताए । तर विप्रेषणको रुपमा आएको अधिकांश रकम उपभोगमा खर्च हुने गरेको अनुसन्धानहरुले देखाएका छन्।
“महँगो व्याजमा ऋण लिने र २,३ वर्ष त्यही सावां र ऋण तिर्न हाम्रा धेरैजसो युवाको समय खर्च हुने गरेको छ। तीन वर्ष काम गरेर घर फर्के पछि फेरी ऋण खोजेर विदेश जानु पर्ने अवस्था छ । यस्तो अवस्थामा एकातिर सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नु पर्ने आवश्यकता छ भने अर्कोतर्फ नेपाली युवाहरुले पसिना बगाएर बचत गरेको रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता छ,” आचार्यले भने। “आजको अर्को जल्दो बल्दो समस्या भनेको नेपाली दाजुभाइ तथा दिदी-बहिनीहरूको सुरक्षित आप्रवासन र रोजगारीको सुरक्षा हो । यसैगरी हाम्रा दिदी-बहिनीहरू विदेशमा घरेलु तथा यौन हिंसाको शिकार हुँदै आएका छन् । हाम्रा दिदी-बहिनीहरूको सुरक्षित आप्रवासन र रोजगारीको सुरक्षा सुनिश्चिति पनि ठूलो मुद्दा हो । त्यसैले नेपाल सरकार, विदेशस्थित कूटनीतिक निकायहरु तथा गैरआवासीय नेपालीहरुको विश्वव्यापी सञ्जालबीच सहकार्य गरी वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउनेतर्फ मैले काम गर्नेछु,” आचार्यले भने। उनले सङ्घले स्थापना गरेको आप्रवासी कामदार कल्याण कोषमा रहेको रकमलाइ आगामी दुई वर्षमा कम्तिमा दोब्बर गर्ने र विद्यमान कार्यविधि पुनरावलोकन गरी कोषको सञ्चालन पारदर्शी ढंगले गर्ने पनि जनाए ।
वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरूको समस्या बुझ्न र समाधानको पहल गर्न एनआरएनए हटलाइनको व्यवस्था गर्ने तथा नेपाल सरकार तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँग समन्वय गरेर विदेशमा अलपत्र परेका पीडित कामदारहरुलाई सहयोग गर्न सुरक्षित गृहको व्यवस्था मिलाउन पहल गर्ने पनि उनले बताए। खास गरी नेपालीहरु काम गर्ने मुलुकहरुमा रोजगारीको माग र नेपालीहरुसँग भएको सीपबीच तालमेल मिलाउन नेपाल सरकार, प्रदेश सरकारहरु, नेपालको निजी क्षेत्र र एनआरएनएबीच सहकार्य गरी एनआरएन सीप विकास केन्द्र स्थापना गर्न पहल गर्ने उनले बताए। वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउनेबारे हालै कतार, बहराइन, कुवेत, मलेसिया लगायतका मुलुकमा कार्यरत नेपालीहरुसंग आचार्यले बृहत् अन्तरक्रिया गरेका थिए। “पसिना फन्ड” स्थापन गर्ने उनको योजना गैर आवासीय नेपाली संघकै इतिहासमा एक फड्को हुने जानकारहरु बताउंछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *