सिड्नी । साउथवेस्ट नेपलिज कम्युनिटी सेन्टर टास्कफोर्सले सिड्नी नेपलिज मल्टीकल्चर सेन्टर सामुदायिक भवन निर्माणका लागि च्यारिटी डिनर गर्ने भएको छ । नेपाली समुदायको सामुदायिक भवन निर्माण गर्ने प्रमुख उद्धेश्य सहित अगष्ट १८ शुक्रवार आईडेन पार्टी प्यालेस अर्लवुडमा च्यारिटी डिनर कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाली भाषा, कला, संस्कृति, सनातन संस्कार र परम्परागत शैली झल्काउने नेपाली सामुदायिक भवनको निमाणर्को अभियानलाई सार्थकता दिन कार्यक्रमको आयोजना गरिएको साउथवेस्ट नेप्लिज कम्युनिटी सेन्टरका अध्यक्ष सुदिप ढकालले बताए । सेन्टरले लामो समयदेखि सामुदायिक भवन निर्माणको योजना अगाडी सार्दै आएको छ । नेपालीपन झल्किने भवन नेपाली समुदायकै स्वामित्व रहने गरी निर्माण गर्न लागिएको र उक्त प्रोजेक्टबारे जानकारी दिने र आर्थिक सहयोग सहित निर्माण प्रक्रिया बारे जानकारी दिइने जनाइएको छ । च्यारिटी डिनरमा आधा घण्टा औपचारिक कार्यक्रम पश्चात सांस्कृतिक कार्यक्रम सुरु हुनेछ ।
कार्यक्रममा स्थानीय कलाकारहरु सुजाता उपाध्याय, रमन रेग्मी, ईश्वर पोखरेल अविरल र सञ्जिव पराजुलीले आफ्नो प्रस्तुती दिनेछन् । सामुदायिक भवन निर्माण अभियानको लागि संस्था दर्ता गर्ने र सोही अवसरमा समिति समेत निर्माण हुनेछ । सामुदायिक भवन निर्माणका लागि सिड्नी नेप्लिज मल्टिकल्चर सेन्टरको नाममा संस्था गठन गर्ने र त्यसलाई दर्ता गरी निर्माणको योजना अगाडी बढाईने उनले जानकारी दिए ।
भवन निर्माणका लागि विभिन्न तैयारीका कामहरु पुरा हुने क्रममा रहेको र ईच्छुक व्यक्तिहरुको समेत धारणा लिईसकेकाले नवगठित समितिले आर्थिक सहयोग संकलन गर्ने, विभिन्न संघसंस्था, अस्ट्रेलिया स्थित सरकारसंग समन्वय गर्ने र जग्गा व्यवस्थापन लगायतका काम गर्नेछ । सामुदायिक भवन भित्र बौद्ध स्तुपा, मन्दिर, मेडिकल सेन्टर लगायतका संरचना बनाउँदै लैजाने योजना रहेको र विस्तारै ती उद्धेश्य पुरा गर्न समितिले काम गर्ने उनको भनाई छ । स्थानीय काउन्सिलरहरुसंग समेत समन्वय भईरहेको उनले बताए ।
एनआरएनएसंग समेत सहकार्य गरेर सहयोगका लागि आह्वान गर्ने र गाला डिनर कार्यक्रममा अहिलेसम्मको कार्यप्रगती र भावी योजनाका बारेमा जानकारी गराउने उद्धेश्य संस्थाले राखेको छ ।






