एनआरएनए अध्यक्षको चुनावी मैदानमा उत्रिए कतारका सफल व्यवसायी आरके शर्मा

लन्डन । गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष राजेन्द्र कुमार (आरके.शर्मा ) ले  गैर आवासीय नेपाली संघको  २०२३-२०२५ को अध्यक्ष पदमा आफू शसक्त दावेदार भएको बताएका छन् ।

कतारका सफल व्यवसायी शर्माले एनआरएनलाई प्रवासमा बस्ने हरेक गैर आवासीय नेपालीलाई समेट्ने गरी समावेशी र सशक्त बनाउन आफूले उम्मेदवारी दिन लागेको  लन्डन नेपाल न्युज लाई बताए ।

एनआरएनए एउटा गैर-राजनीतिक सामाजिक संस्था भएको बताउंदै शर्माले अग्रजहरुसंगको सरसल्लाह र सबै साथीहरुको आग्रह र सहयोगमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।

‘अध्यक्ष पदमा सहमतिको सम्भावना के छ ?’ भन्ने एक प्रश्नमा शर्माले सहमतिका लागि आफू संधै खुला रहेको तर खुल्ला प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनु पर्छ भन्ने आफ्नो धारणा रहेको जनाए ।

शर्माले आफू सम्पूर्ण रुपले नेतृत्व हाँक्न सक्षम रहेको भन्दै अव कुनै पनि अवस्थामा पछाडी नहट्ने बताए । साथै आफु अध्यक्षका लागि स्वभाविक उम्मेदवार भएको उनले बताए ।

शर्माले आईसिसि सदस्य,मध्यपुर्व संयोजक,सचिव,उपाध्यक्ष भएर संघका विभिन्न जिम्मेवारी पुरा गरिसकेकाले अवको आफ्नो गन्तब्य अध्यक्ष नै भएको बताए । अधिकांश गैरआवासीय नेपालीको समर्थन आफूलाई रहेको दावी शर्माको रहेको छ ।

मेरो उम्मेदवारी मध्यपुर्वको संयुक्त उम्मेदवार हो । मलाई आम गैरआवासीय नेपालीको साथ र सहयोग छ,’ शर्माले भने, ‘विश्वभरका अधिकांश गैरआवासीय नेपालीको विश्वासलाई मैले कहिलै टुट्न दिन्न ।विदेशमा रोजगारी गर्ने नेपालीको दुःखमा मलमपट्टी लगाउनको लागि भए पनि आफू एनआरएनए अध्यक्ष बन्नुपर्ने शर्माको दावी रहेको छ ।शर्माले छिट्टै औपचारिक रुपमा आफ्नो प्रतिबद्दतासहित उम्मेदवारी घोषणा गर्ने बताए ।

कतारलाई आफ्नो कर्मथलो बनाएका शर्मा गैरआवसीय नेपाली अभियानमा सन् २००६ देखि सक्रिय छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् कतारका सल्लाहकार हुँदै अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य भए । त्यसपछि एनआरएनएको मध्यपूर्व संयोजक सचिव हुँदै अहिले उपाध्यक्ष रहेका शर्मा अब मध्यपूर्वको प्रतिनिधित्व गर्दै संघको नेतृत्व गर्ने योजनामा छन् । चुनावी सरगर्मी बढे पछि विभिन्न देश दौडाहमा निस्केका शर्मा जापान पुगेका छन् ।