एक अमेरिकी नागरिकको नेपाल प्रेम

20150705_235447_resized (2)भरत पाण्डेय । इन्जिनियर सतिस मेहतानी तत्कालीन भारतीय नागरिक । सन् १९६७ मा भारत सरकारको केन्द्रीय वाटरपावर कमिसनको वरिष्ठ इन्जिनियरका रूपमा नेपाल आए । जति बेला उनी नेपालीसँग निकट थिएनन्, व्यक्तिगत रुपमा तत्कालीन प्रधानमन्त्रीदेखि केही व्यक्तिसँग चिनाजानीबाहेक । भारतको तर्फबाट नेतृत्व गर्दै त्रिशूली हाइड्रोपावर सम्पन्न गरे, अनि आफ्नो देश फर्के ।

जब उनी आफ्नो देश भारत फर्के, नेपाल र नेपालीप्रतिको माया बिर्सिनसक्नु भयो । सम
य क्रमले उनी अमेरिकी नागरिक बन्न पुगे
। दूरीका हिसाबले भारतभन्दा अमेरिका कैयौँ माइल टाढा, तर नेपालीप्रतिको माया झनै प्रगाढ बन्यो । वरिष्ठ सिभिल इन्जिनियर, चर्चित रेस्टुरेन्ट तथा डे केयर व्यवसायी मेहतानी अहिले नेपालमा छन् ।
अहिले उनी ८१ वर्ष लागे । योबीचमा तीन पटकसम्म मुटुको उपचार गर्नुप¥यो । उनकी श्रीमती अहिले घातक रोगको औषधि खाइरहेकी छन् । श्रीमती स्नेहालाई स्याहार गर्ने दुई नेपाली चेली छन् । उमेरले ८० काटेर बुढ्यौली लागेका बेला यसै पनि आराम गर्ने र अवकाश लिने समय हो । बिरामी श्रीमतीलाई स्याहार र हेरचाह गर्ने बेला हो । तर, मेहतानी आफू र आफ्नो परिवारको जटिल स्वास्थ्य अवस्थाका बाबजुत सामाजिक सेवामा होमिएका छन् ।

मेहतानी रोड

मेहतानी सन् १९७० मा अमेरिका प्रवेश गरेका हुन्, श्रीमती स्नेहासँग । न्युयोर्कमा प्रवेश गरेपछि इन्जिनियरिङ क्षेत्रमा रोजगार नपाएकाले एक बिमा एजेन्ट रूपमा काम सुरु गरे । त्यसपछि दम्पतीले रेस्टुरेन्ट व्यवसाय सुरु गरे ।
अमेरिकाको न्यु जर्सी राज्यमा पर्ने इडिसन सहरको ओकट्री रोडमा एउटा मार्ग छ, मेहतानी मार्ग । अमेरिकी इतिहासमै भारतीय मूलका व्यक्तिको नाममा कुनै मार्ग छ भने मेहतानी मार्ग नै पहिलो हो । सन् २०१२ मा इडिसनका मेयर जुन च्वयले घोषणा गरेको यो मार्ग राखिनुको प्रमुख कारण हो, इन्जिनियर सतिस मेहतानी र स्नेहा मेहतानीको मेहनत । न्यु जर्सी राज्यमा २५ हजार रेस्टुरेन्ट छन् । त्यसमध्ये मेहतानी रेस्टुरेन्ट ग्रुपलाई रेस्टुरेस्ट अफ दी इयर– २०१३ को विजेता घोषणा गरिएको थियो । हाल मेहतानी ग्रुपका नौ रेस्टुरेन्ट सञ्चालनमा छन् । तिनै चर्चित इन्डियन अमेरिकन मेहतानीको समाजसेवा अहिले नेपाली घाउमा मलम बन्न थालेको छ ।

नेपाली मन दुख्दा यसरी नेपालमै बसेर सहयोग गरेका मेहतानी विपत्मा परेका नेपाली बचाउने यो उनको अभियान मात्रै होइन, आफैँले रोजगारी दिएर ८८ जना नेपालीको परिवार एक्लैले पालिदिएका छन् । आफ्ना विभिन्न रेस्टुरेन्टमा प्रत्यक्ष रोजगारी दिएका दुई सय ९० कर्मचारीमध्ये ८८ नेपाली छन् । मेहतानीले आफ्ना निजी सहायक पनि नेपाली नागरिक मुकुन्द ओझालाई राखेका छन् ।

नेपालीसँग सहकार्य

नेपाल र नेपालीका अगाध स्नेहका खानी मेहतानी अब नेपाली जटिल बिमार लागेर उपचार गर्न नपाएर मर्नु नपरोस् भन्ने अभियानमा लागेका छन् । त्यसका लागि उनले न्यु जर्सीको मेहतानी मार्गमा नेपाली मूलका अमेरिकीसँग मिलेर इन्टरनेसनल मेडिकल एन्ड हस्पिटालिटी सर्भिस नामक संस्था खोलेका छन् । रेखा हमाल क्षेत्री र उनका श्रीमान खगेन्द्र जिसीले समेत नेपालमा सामाजिक कार्यका लागि सहयोग गरिरहेको उनी बताउँछन् । सामाजिक सेवाको काम गरिरहको उनको संस्था इन्टरनेसनल मिसन अफ मर्सीको नेपालमा शाखा खोलेर दुर्गममा विद्यालय समेत खोल्ने तयारी उनले गरेका छन् । ‘मर्सी मिसनको शाखा खोलेर सरकार नपुगेको दुर्गममा स्कुल खोली भोलिका राष्ट्रनिर्माता बालबालिकाको भविष्य सुनिश्चित बनाउने योजना छ,’ उनी भन्छन्, ‘सँगसँगै नेपाली जटिल रोगको उपचार गर्न नपाएर मर्नु नपरोस् भनेर जहाँ पु¥याएर पनि उपचार गर्ने पनि हाम्रो योजना छ ।’

भूकम्पीडितका माझमा05

छोरालाई रेस्टुरेन्टको जिम्मेवारी सुम्पेर मेहतानी अहिले नेपालका भूकम्पपीडित विशेषगरी ज्येष्ठ नागरिक र बालबालिकाको सेवामा खटिएका छन् ।
सन् १९६७ र १९६८ मा नेपालमा इन्जिनियरको रूपमा आएका मेहतानी पछि सन् २०१५ मार्चमा बिरामी श्रीमतीलाई लिएर पशुपतिको दर्शन गर्न आएका थिए । त्यसपछि विनाशकारी भूकम्पले नेपालमा ठूलो जनधनको क्षति गरेलगत्तै उनी नेपाल आए, मे पहिलो साता । तीनपटकको नेपाल आगमनमा उनले नेपाल र नेपालीलाई बिर्सिनसक्नु गुन मात्र लगाएनन्, आफूले समेत नेपाल र नेपाली बिर्सन सकेनन् । ‘जब भूकम्पमा धेरैले ज्यान गुमाए, घरबारविहीन बने, त्यस समयमा औषधि, पाल, लत्ताकपडा, नगद, खेलौना, विद्यालयमा शैक्षिक सामग्री ल्याएर वितरण गरेँ,’ मेहतानी भन्छन्, ‘त्यसैले नेपालीलाई सहयोग मात्रै होइन, मेरो नेपाल र नेपालीप्रतिको माया पनि बढायो ।’
उनलाई अमेरिकामा रहेका डाक्टर रेखा हमाल जिसी, उनका श्रीमान खगेन्द्र जिसी क्षेत्री, अभिनेता राजेश हमालका भाइ राकेश हमाल साथै समीर जीसीले समेत सहयोग पु¥याएका थिए ।
इन्टरनेसनल मिसन अफ मर्सी (अन्तर्राष्ट्रिय करुणा मिसन) अमेरिकाका सभापति समेत रहेका मेहतानीले भूकम्पपीडितलाई एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग गरेका छन् । उनले भूकम्पपीडितलाई औषधि, नगद, पाल, विद्यालयका सामाग्री तथा साना विद्यार्थीलाई खेलौना, साइकल र कम्प्युटर इत्यादि सामान बाँडेका थिए ।
उनी काठमाडौं आसपास मात्र नभएर, नुवाकोटको त्रिशूली र भूकम्पको मुख्य केन्द्रबिन्दु रहेको गोरखामा पनि पुगेर सहयोग गरेका थिए । पीडित परिवारसम्म ७५ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग उनी आफैँले नै पु¥याएका छन् । प्रधानमन्त्री राहतकोष, थापा फाउन्डेसन, जिपी कोइराला फाउन्डेसन लगायतबाट नगद सहयोग गरेका उनले गोर्खा, भैँसेपाटी, चावहिल, जोरपाटी, साँघु, त्रिशूलीका विभिन्न व्यक्ति, परिवार, समुदाय र विद्यालयमा सहयोग गरेका छन् । ‘भूकम्पको एक सातापछि चाइनाबाट तीन सय पाल मगाएर काठमाडौंमा पीडितलाई आफैँ दिएपछि दुर्गमका भूकम्पपीडतलाई भनेर प्रधानमन्त्री राहतकोष, थापा फाउन्डेसन, जिपी कोइराला फाउन्डेसनमार्फत नगद सहयोग पठाएँ,’ उनले भने, ‘त्यसपछि पाँचवटा छुट्टाछुट्टै स्थानका स्कुलमा औषधि, लत्ताकपडा, कम्प्युटर, र शैक्षिक सामग्री र आर्थिक सहयोग गरेँ ।’
त्यति मात्रै होइन, भारतमा रहेका बहिनीज्वाइँ साम सदानलाई समेत भनेर नेपाली दूतावासमार्फत २५ हजार अमेरिकी डलर नेपाल राहतकोषमा उपलब्ध गराए ।

गोली हातमा लाग्यो
आफू जन्मेको देशमा भएको विभाजनले गर्दा १२ वर्षको हुँदा झन्डै मारिएका थिए । तर, संयोगले बाँचेका उनी नेपालका लागि मात्रै होइन, विश्वभरिका जनताका लागि सहयोगी हात बनेका छन् । ‘सन् १९४७ मा पाकिस्तान टुक्रिँदा १२ वर्षको थिएँ, भागेर भारत जाँदा पाकिस्तानीले हानेको गोली हातमा लाग्यो,’ उनले भने ‘नौ हजार मारिँदा पनि झन्डै बाँचिए छ र अहिले सामाजिक सेवाको अभियानमा लाग्न पाएको छु ।’

ट्विनटावर हमलाका बेला सहयोग

मेहतानी परिवारले अमेरिकाको ट्विन टावरमा हवाई हमला हुँदा त्यहाँ त्यो विपतिमा परेका सबैलाई १०औँ हजार स्यान्डविच दिएर घाइतेलाई सहयोग गरेका थिए । उक्त घटनामा उनकी छोरी समेत घाइते भएकी थिइन् । उक्त घटनाका घाइतेलाई सहयोग गरेबापत उनलाई अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र अन्य अमेरिकन राजनीतिज्ञले समेत सम्मान गरेका थिए ।

साउदी राजकुमारको सहयोग लिएनन्

सन् १९९१ मा भएको खाडी युद्धपछि दुई हप्तासम्म इराकमा बसेर उनले त्यहाँका बासिन्दालाई सहयोग गरेका थिए । ‘त्यसरी सहयोगबापत साउदीका राजकुमारले २५ हजार डलर दिएका थिए, तर मैले पैसाका लागि हैन, मानवीय नाताले सहयोग गरेको हो भनेर फिर्ता गरिदिएँ,’ मेहतानीले भने ।

जापानमा सहयोग

जापानमा सुनामीपछि पनि उनको संस्थाले ठूलो सहयोग गरेको थियो । उनी ११ जना डाक्टरको समूह लिएर सुनामीपीडितको दुखाइ, पीडा र तनावको उपचार गर्न गएका थिए । तर, जापानको टोकियोमा फलफूल, तरकारी, दूध इत्यादिमा विकिरण देखिएकाले उक्त समूहलाई त्यहाँको स्टेट गभर्मेन्टले प्रवेश दिएन । पछि उनले त्यहाँका जनतालाई मानसिक रूपमा स्वस्थ राख्नका लागि १० हजार थान सिडी बनाएर पठाएका थिए, उक्त म्युजिकल सिडीहरू नेपालका भूकम्प पीडितलाई पनि पीडा कम गर्नका लागि नेपाली जनतालाई र प्रधानमन्त्रीलाई समेत बाँडिएको थियो । नाइजेरिया युद्धको पछि पनि उनले त्यहाँका घाइते जनताको उपचारका लागि मेडिकल आपूर्तिमा ठूलो सहयोग गरे । ‘नाइजेरियामा एउटा इन्जेक्सन पुछेर सयौँले लगाउनुपर्ने अवस्था थियो,’ उनले भने, ‘पाँच हजार सिरिन्जका निडल्स किनेर त्यहाँ पठाएका थियौँ ।’

सूर्यबहादुरसँगको चिनजान छोरासम्म

americaत्रिशूली हाइड्रोपावर निर्माणका बेला आउँदा नेपालका तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापासँग राम्रो सम्बन्ध बनाएका उनको पछिल्लोपटक थापाका छोरा सुनीलसँग समन्वय गरेर नेपालमा सामाजिक काम गरिरहेका छन् । पछिल्लोपटक उनले प्रधानमन्त्री सुशील कोइरालालाई दुई–तीनपटक भेटेर ७० वर्षको नेपाली जनताको सपना पूरा गर्ने गरी नयाँ संविधान बनाएकोमा खुसी समेत व्यक्ति गरे । प्रधानमन्त्री र नेपालीलाई उनले शुभकामना समेत दिएका छन् ।
नेपाल र नेपालीलाई सहयोग गर्ने अभियानमा गुल्मेली अमेरिकी कानुन व्यवसायी खगेन्द्र जिसी, डा. रेखा क्षेत्री, तथा अन्य सहयोगी अजय गुप्ता, सोहग मुन्सी, भिज पेभार, मेयर जुन च्वय, डाक्टर घरिपाली, डाक्टर शर्मा, गंगाथर रे लगायत सहयोगीले सहयोग गरेका छन् ।

सेवा र सम्मान
सामाजिक र मानवीय सेवामा दिलोज्यान दिने मेहतानी एक भारत र अमेरिकामा ख्यातिप्राप्त व्यक्ति समेत हुन् । वैज्ञानिक र औद्योगिक अनुसन्धान परिषद्अन्तर्गत भारत–स्विस प्रशिक्षण केन्द्रको सिभिल इन्जिनियरिङको तर्फबाट उत्कृष्ट निर्माण लागि उनले सन् १९६३ मा ‘स्वर्ण पदक’ जिते ।
उता, अमेरिकामा उनी रेस्टुरेन्ट व्यवसायमा सफल हुँदै गए । रेस्टुरेन्ट अफ दी इयर २०१३ को उपाधि जिते । रेन्टुरेन्ट व्यवसायको सफलतासँगै पहिलो एसियाली अमेरिकीको रूपमा राष्ट्रपति बिल क्लिन्टनले राष्ट्रिय वित्त समितिको सह–अध्यक्ष नियुक्त गरेका थिए ।
सामाजिक कामको सुरुवातसँगै उनले समाजको सबैभन्दा कमजोर व्यक्तिलाई राहत र सान्त्वना प्रदान गर्न डा. दिनेश पटेलसँग साझेदारीमा न्यु जर्सीमा तीनवटा हेरविचार केन्द्र सञ्चालन गरेका छन् र जहाँ ज्येष्ठ नागरिकलाई मेडिकल उपचार गरिन्छ र हाल चार सय १० बिरामीको उपचार भइरहेको छ ।
‘म जहाँ बस्छु, त्यो समुदायको आवश्यकता र सहयोगका लागि म सबैभन्दा राम्रो गर्छु,’ सामाजिक सेवामा लाग्नुको कारणबारे उनी भन्छन्, ‘सहयोगका लागि भगवानले सधैँ मलाई बाटो दोखाउनुहुन्छ ।’