बागलुङको पहिरोमा मृत्यु हुनेको संख्या ६, एकै परिवारका चार

बागलुङ- बागलुङमा शुक्रबार झरेको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । जिल्लाको निशीखोला गाउँपालिका-२ मा पहिरोले पुरिएर एउटै परिवारका चारजनाले पनि ज्यान गुमाएका छन् ।

पहिरोमा पुरिएर ज्यान गुमाउनेमा ६७ वर्षीय मनिमान छन्त्याल, उहाँकी पत्नी ६३ वर्षीया नन्दकली, बुहारी २२ वर्षीया बिन्दु र छोरी गीता छन्त्याल रहेका निशीखोला गाउँपालिका-२ का वडाध्यक्ष कुविर विश्वकर्माले बताउनुभयो ।

निरन्तर वर्षा भएपछि पहिरो झर्दा जिल्लाकै ढोरपाटन नगरपालिका-५ मा १ जना र निशीखोला गाउँपालिकामा ४ जनाले ज्यान गुमाएका हुन् । निशीखोला-१ हुँल्दीमा पहिरोले घर बगाउँदा ७५ वर्षीय झोगेन्द्रबहादुर सिंजालीकी पत्नी ७० वर्षीया खगिसराको ज्यान गएको बागलुङका प्रहरी नायव उपरीक्षक अनिल खड्काले बताउनुभयो ।

ढोरपाटनमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५५ वर्षीय ओमप्रकाश कामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । पहिरोमा पुरिएका उनको परिवारका अन्य सदस्यलाई छिमेकीले उद्धार गरेका छन् ।

पहिरोले जिल्लाका आधा दर्जन घरमा क्षति पुर्‍याएको छ । बाढीले निशीखोला दोस्रो जलविद्युत आयोजना समेत बगाएको स्थानीयबासीले बताएका छन् । बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय जनप्रतिनिधि र प्रहरीको टोली गइसकेको छ ।