काठमाडौँ- सङ्घीय गठबन्धनले बिहीबारदेखि काठमाडौँ केन्द्रित थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
गठबन्धनले आज रत्नपार्कमा आयोजना गरेको सभामा थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । भोलि बिहीबार मङ्गलबजार, ७ गते नयाँबानेश्वर, ८ गते स्वयम्भू, ९ गते चाबहिल, १० गते कीर्तिपुर, ११ गते भक्तपुर, १२ गते बालाजु, १३ गते कलङ्कीचोक, १४ गते मध्यपुरथिमीमा विरोधसभा गर्ने गठबन्धनका संयोजक उपेन्द्र यादवले घोषणा गर्नुभयो ।
काठमाडौँ केन्द्रित आन्दोलनको समर्थनमा १६ गते वीरगन्ज र १७ गते पोखरामा पनि विरोधसभा गरिने भएको छ । आन्दोलन घोषणा गर्दै संयोजक यादवले ३६ पटक सरकारसँग वार्ता गर्दा पनि समस्याको समाधान नभएपछि राष्ट्रियता बलियो बनाउन आन्दोलन गर्न बाध्य हुनुपरेको बताउनुभयो ।
“जनताको अधिकार प्राप्तिका लागि गरिएको शान्तिपूर्ण अहिंसात्मक आन्दोलनलाई सेना, प्रहरी र कानुन कसैले पनि रोक्न सक्दैन, पृथ्वीनारायण शाहले भूगोल एवम् प्रशासनिक रुपमा एकीकरण गरेको नेपाललाई भावनात्मक रुपमा एकीकृत बनाउन यो आन्दोलन सुरु गरेका हौँ”–उहाँले भन्नुभयो ।
सङ्घीय लिम्बूवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देनले सङ्घीय सहअस्तित्वले मात्र मुलुकको रक्षा गर्नसक्ने बताउनुभयो । “नेपाल बाहिर नेपालको अस्तित्व सङ्कटमा परेकाले नेपालीको पहिचान कायम गर्न आन्दोलन गरेका हौँ” – उहाँले भन्नुभयो ।






