गणतन्त्र गुम्ने खतरा : प्रचण्ड

Prachanda-5काठमाडौं–एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र र राष्ट्रिय स्वाधीनता दुवै खतरामा रहेको औ‍ल्याउँदै यसलाई जोगाउन सरकार र आन्दोलनकारीको ध्यानाकर्षण गराएका छन् ।

गणतन्त्र, संघीयतालगायतका उपलब्धि गुम्ने र राष्ट्रिय स्वाधीनतामा आँच आउने खतराप्रति सर्तक रहेर वार्तामा आउन आन्दोलनरत पक्षलाई अपिल गर्दै दाहालले आन्दोलनरत मधेसी, आदिवासी जनजातिलगायतका दलसँग संवाद गरी समस्या समाधान गर्न पनि सरकारसँग माग गरेका छन् ।

राजधानीमा बिहीबार हुने माओवादी दलहरुको एकता अधिवेशनमा प्रस्तुत गर्न तयार पारेको प्रस्तावमा दाहालले राजनीतिक रुपले तीनवटा प्रवृत्तिका बीचमा अन्तरविरोध र संघर्ष चलिरहेको विश्लेषण गरी सरकार र आन्दोलनकारी दुबै पक्षको ध्यानाकर्षण गराएका छन् ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता उपलब्धि उल्टाउन खोज्ने ‘प्रतिगामी राजनीतिक प्रवृति’ लाई दाहालले पहिलो नम्बरमा राखेका छन् । त्यस्तै कुनैपनि राजनीतिक दलहरुको नाम नलिई यथास्थितिवादी शक्तिहरु भनि प्रवृतिका रुपमा विश्लेषण गरेका छन् भने तेस्रो प्रवृतिका रुपमा दाहालले आफूहरुलाई परिवर्तनकारी शक्तिका रुपमा विश्लेषण गरेका छन् ।