मुस्ताङ ३० पुस, । विश्व प्रसिद्ध अन्नपूर्ण पर्यटकीय क्षेत्रमा गत वर्ष एकलाख २९ हजार नाै सय पर्यटक भित्रिएका छन् । मुस्ताङ, म्याग्दी, कास्की, लमजुङ र मनाङ जिल्लाका ५७ गाविसमा फैलिएको २१ दिने पदयात्राका लागि सन् २०१४ मा एकलाख २९ हजार ९०४ पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।
यो सङ्ख्या सन् २०१३ भन्दा ११.८२ प्रतिशत बढी हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना व्यवस्थापन समितिनारच्याङका अध्यक्ष तेजबहादुर गुरुङले सार्कभन्दा तेस्रो मुलुकका नागरिक बढी भित्रिएको जानकारी दिए ।
उनका अनुसार, जनवरीमा पाँच हजार १९१, फेब्रुअरीमा पाँच हजार ८९७, मार्चमा १३ हजार ७५१, अप्रिलमा १७ हजार ७११, मेमा १० हजार ७८१, जुनमा छ हजार ४५३, जुलाईमा छ हजार ९३ जना र अगस्टमा पाँच हजार २०७ जना पदमार्गका लागि आएका थिए ।
त्यस्तै, सेप्टेम्बरमा १४ हजार २६८, अक्टोबरमा २२ हजार ७५६, नोम्भेबरमा १४ हजार २८७ र डिसेम्बरमा सात हजार ५६९ जना पर्यटक भित्रिएका छन् । यो पदमार्गमा आउन सार्क मुलुकका नागरिकले रु २०० र तेस्रो मुलुकका नागरिकले रु दुई हजार प्रवेश शुल्क बुझाउनुपर्छ । मार्च, अप्रिल, मे, सेप्टेम्बर, अक्टोबर र नोम्भेबर महिनामा अनुकूल मौसमका कारण बढी पर्यटक भित्रिएका हुन् ।
एक्यापले सन् १९९३ बाट यो क्षेत्रमा आउने पर्यटकको तथ्याङ्क सङ्कलन गरेयता अहिलेसम्मकै सर्वाधिक पर्यटक भित्रिएको बताइएको छ ।
अन्नपूर्ण क्षेत्रका एक दर्जनभन्दा बढी हिमशृङ्खला, मुस्ताङको लोमान्थाङ,मुस्ताङ्गी कला, संस्कृति, विश्वकै ठूलो क्षेत्रफलमा फैलिएको लालीगुराँसको जङ्गल, पुनहिलको सूर्योदय,घोरेपानीको बसाइँ, घान्द्रुकको आतिथ्य सत्कारलगायत ग्रामीण रहनसहन नै अन्नपूर्ण पदयात्राका विशेषता र आकर्षण हुन् ।
एक्याप मुस्ताङका प्रमुख विदुर कुइँकेलले पछिल्लो समय तेस्रो मुलुकका पर्यटक भ्रमणका अतिरिक्त‘साइकलिङ’का लागि पनि आउने गरेको बताए । रासस






