पासाङलाई उपराष्ट्रपति बनाउने सहमति तोडिए सरकार छाड्ने प्रचण्डको चेतावनी

KP-Prachandaकाठमाण्डु, १२ कात्तिक– एकीकृत माओवादीले नन्दकिशोर पुन ‘पासाङ’ लाई उपराष्ट्रपति बनाउने पूर्वसहमतिबाट एमाले पछि हट्न खोजेको भन्दै आक्रोश व्यक्त गरेको छ ।

 

एमालेले पासाङलाई उपराष्ट्रपति बनाउनेबारे भएको सहमति तोडे सरकार र सत्ता गठबन्धनबाटै बाहिरिने चेतावनी उसले दिएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पासाङलाई उपराष्ट्रपति बनाउन एमाले तयार नभए सरकार छाड्ने चेतावनी दिएको श्रोतले बतायो ।

बैठकमा प्रधानमन्त्री समेत हरेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि थिए ।

‘विद्या भण्डारीलाई राष्ट्रपति र पासाङलाई उपराष्ट्रपति बनाउने सहमति हामीबीच भएको हो’, प्रचण्डको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो, ‘यदि सहमति पालना हुँदैन र धोका हुन्छ भने हामी सरकारबाट बाहिरिन्छौं ।’

एकीकृत माओवादीका एक स्थायी समिति सदस्यले आफूहरुको समर्थनमा राष्ट्रपति र प्रधानमन्त्री पद लिएपछि एमालेले सहमति तोडेको आरोप लगाए ।

उनका अनुसार पासाङ उपराष्ट्रपति भए शीतलनिवासमाथि हाबी हुन सक्ने खतरा औंल्याउँदै एमाले सहमतिबाट पछि हट्न खोजेको हो ।

एमाले नेताहरुले उपराष्ट्रपति साना दललाई दिनुपर्ने प्रस्ताव गरेपछि एमाओवादी बिच्किएको हो ।