आकांक्षी बढेपछि एमालेले मन्त्री पठाउन सकेन

आकांक्षी बढेपछि एमालेले मन्त्री पठाउन सकेन

 

काठमाडौं, १२ कात्तिक : एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएको तीन साता बित्न लागे पनि अझै सरकारले पूर्णता पाउन सकेको छैन । असोज २४ गते प्रधानमन्त्रीमा ओली निर्वाचित भएपछि सानो आकारको प्रारम्भिक मन्त्रीमण्डल गठन भएपनि मन्त्री पदका लागि सत्तारुढ दलहरुमा मन्त्रीपदका आकांक्षीको संख्या धेरै भएपछि मन्त्रीमण्डलले पूर्णआकार ग्रहण गर्न नसकेको हो ।

मन्त्रीका लागि सबै भन्दा धेरै विवाद प्रमुख सत्तारुढ दल एमालेभित्रै देखिएको छ । संसदको दोस्रो ठूलो दल भएर पनि सरकारको नेतृत्व सम्हाल्ने अवसर पाएको एमालेको भागमा ९ ओटा मन्त्रालय परेको छ । जसमध्ये उद्योग मन्त्रालयमा सोमप्रसाद पाण्डेलाई पठाएको एमालेले कानुन मन्त्रालयको जिम्मेवारी अग्नि खरेललाई दिएको छ । सत्यनारायण मण्डललाई विना विभागिय मन्त्रालयमा पठाइएको छ ।

अर्थ, सञ्चार र रक्षा मन्त्रालय पाउने निश्चित भएपनि पार्टीमा आंकाक्षीको संख्या अपेक्षा गरेभन्दा पनि धेरै भएपछि एमाले नेतृत्वलाई यि मन्त्रालयमा कसलाई पठाउने भन्नेमा समस्या परेको छ । व्यक्तिको पार्टीमा योगदान र उसको कार्यक्षमता सँगै गुटका आधारमा पनि मिलाउनु पर्ने भएकाले लामो समय लागेको हो ।

“ओली र नेपाल गुटमा स्पष्ट विभाजित एमाले सरकारमा जाँदा र पार्टीका आन्तरिक पदीय बाँडफाँडमा संधै यस्तै समस्या देखिने गरेको छ,” ओलि निकट एक एमाले केन्द्रीय सदस्यले कारोबारसँग भने,“यो पटक पनि पुरानै अवस्था आएको हो । यो नयाँ समस्या होइन तर यसकै कारण सँधै पार्टीमा विवाद हुन्छ । र, नेताहरुबीच यसैले फाटो पैदा गरिदिन्छ ।”
अर्थ मन्त्रालयको जिम्मेवारी नेता विष्णु पौडेललाई दिने लगबग निश्चित भएको एमाले स्रोतको भनाइ छ । ओलीका दाहिने हात मानिने पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिदा माधव नेपाल निकट भीम रावलले भने उपप्रधानसहित रक्षा मन्त्रालय दिने सुनिश्चत भएको स्रोतले बतायो । ओली निकट एक नेताले भने, “अन्य मन्त्रालयको जिम्मेवारी कसकसलाई दिने निश्चित नभएकाले पनि उनीहरुलाई मन्त्रालयमा नपठाइएको र अब राष्ट्रपतिको निर्वाचन भइसकेकाले तत्कालै यो विषय टुङो लाग्छ ।”

सञ्चार मन्त्रालय पनि आफ्नै भाग राखेको एमालेले यो मन्त्रालयको जिम्मेवारी कसलाई दिने सुनिश्चत नभएपनि शेरधन राईलाइ पठाउने विषयमा छलफल भइरहेको ति नेताले बताए । राई सँगै यो मन्त्रालयमा भानुभक्त ढकालको पनि चर्चा छ । राई पार्टीको वैकल्पिक पोलिट्ब्यूरो सदस्य हुन् भने ढकाल पोलिटव्यूरो सदस्य हुन् । ति केन्द्रीय सदस्यका अनुसार ढकालको भन्दा राईको सम्भाबना बलियो छ । जनजातीको पनि प्रतिनिधित्व हुने भएकाले पनि उनले यो जिम्मेवादी पाउने सम्भावना बलियो बनेको हो । राई र ढकाल मध्य सञ्चार मन्त्रालयको जिम्मेवारी जसले पाउदैन उसलाई अर्को मन्त्रालय दिने नेतृत्वको तयारी छ ।

यस्तै मधेसी समुदायबाट बैजनाथ चौधरी र महिला मधेसीबाट मञ्जु चौधरीलाई सरकारमा पठाउने विषयमा पार्टीमा छलफल चलिरहेको एमाले स्रोतले बतायो । मन्त्री बनाइदिन आग्रह गर्दै अहिले दिनहु ओलीकोमा दर्जनौ एमाले नेताहरुको भिड लाग्ने गरेको छ ।

पछिल्लो समय आफ्नो छुट्टै गुट निर्माण नगरी नेपाल खेमालाई नै समर्थन गरेका एमाले पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल भने सरकारमा कसकसलाई पठाउने भन्नेमा त्यती धेरै चासो देखाएका छैनन् । राष्ट्रपतिका लागि भने उनले इच्छा प्रकट गरे पनि ओली र नेपाल दुबैले उनलाई महत्व दिएनन् । एमाले स्रोतका अनुसार माधव नेपालले राष्ट्रपति हुन चाहेका भए उनी राष्ट्रपति बन्ने सक्थे । पार्टीमा अहिले खनालको खासै प्रभाव छैन ।