लन्डन । नेपालका अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार एनआरएनए युकेको बृहत् अन्तरक्रियामा सरिक भएका छन् ।गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले खतिवडा लन्डन ओर्लिएकै सांझ लन्डनमा एक अन्तरक्रिया गरेको हो ।
लन्डनस्थित नेपाली दूतावासले शुक्रबार राखेको लगानी केन्द्रित ‘नेपाल विकास सम्मेलन’ मा प्रमुख वक्ताका रुपमा सहभागी हुन आएका खतिवडाको बेलायतबाट लगानी भित्रयाउने मुख्य प्राथमिकता छ ।
‘आउंदो महिना नेपाल सरकारले लगानी सम्मेलन तय गरेको छ । त्यही सम्मेलनमा बेलायतका लगानीकर्तालाई प्रेरित गर्नु पनि मेरो उद्देश्य हो’, मन्त्री खतिवडाले भने, ‘यहांबाट लगानीकर्तालाई उत्प्रेरित गर्ने क्रममा डायस्पोराको सहयोग र सक्रियताको पनि मैले अपेक्षा गरेको छु ।’ बेलायत नेपाल द्विपक्षीय सम्वन्ध अभिवृद्धि र बेलायती सहायता वृद्धिको पहल पनि अर्को उद्देश्य रहेको उनले सुनाए । नेपाल सरकारले नेपाललाई एक उपयुक्त र विश्वसनीय लगानी केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले नेपालमा लगानी शिखर सम्मेलन तय गरेको हो ।
शुक्रबारसम्म लन्डनमा रहंदा मन्त्री खतिवडाले बेलायती उच्च पदस्थ अधिकारीहरुसंग समेत छलफल गर्न लागेको बताए । डिएफआइडी मन्त्री लगायतको भेटमा नेपाललाई बेलायती सहायता वृद्धि र भूतपूर्व गोर्खा मागबारे छलफल हुने मन्त्रीले जानकारी दिए ।
गोर्खा समस्या कुटनीतिक भएकाले नेपाल सरकारले बेलायत सरकारसंग यसको समाधानका लागि पहल गरिरहेको मन्त्रीको भनाइ थियो । खतिवडाले नेपालमा प्रगतिशील कर प्रणाली लागू गरिएको जनाउंदै नेपालको अर्थतन्त्र भयावह भएको भन्ने प्रतिपक्ष र आलोचकप्रति उनी आक्रोशित थिए ।
एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्यले प्रवासमा बस्ने नेपालीले एक्लैले ठूलो लगानी गर्न नसके भने सामूहिक लगानीका लागि उनीहरु उत्सुक भएको धारणा राखे । गैर आवासीय नेपाली नागरिकता दिने सम्वन्धमा देखिएका केही व्यवधानमा पुनर्विचार गर्न पनि उनले आग्रह गरे ।
भूतपूर्व गोर्खा अभियन्ता ज्ञानराज राईले गोर्खा मागबारे अपडेट दिए भने सिए तथा कांग्रेस युवा नेता विज्ञान प्रसाईंले वर्तमान सरकारले गलत तथ्यांक प्रस्तुत गरेर आर्थिक समृद्धिको नारा दिएपनि यथार्थमा त्यो नभएको धारणा राखे । उनले दुई तिहाइको सरकार हुंदैमा राजनीतिक स्थिरता भएको भन्न नमिल्ने जिकिर समेत गरे ।
प्रतिपक्ष नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुंगले सरकारले देशमा अधिनायकवादको शासन लागू गरेको आरोप लगाउंदै दुई तिहाइको दम्भ दिने कम्युनिष्ट सरकारले कांग्रेसलाई राजनीतिक दलको हैसियत नदिएको बताए । एनआरएनए यूके उपाध्यक्ष शेरबहादुर सुनारले गोर्खा पेन्सन मुद्दा कहां पुगेको छ र अहिले भर्खर ४०० जना युवा गोर्खा भर्तीबाट बेलायत आएवापत नेपाल सरकारले के पायो भन्ने जिज्ञासा राखेका थिए ।

उक्त कार्यक्रममा एनआरएनए आइसीसी सदस्य रामशरण सिम्खडा, एनआरएनए यूके संरक्षक योगेन क्षेत्री, साइप्रस बस्ने रन्जित महतो, एनआरएनए यूके उपाध्यक्ष प्रेमगाहा मगर लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन महासचिव आर के त्रिपाठीले गरेका थिए भने स्वागत मन्तब्य उप-महासचिव बिनय अधकारीले गरेका थिए।
उक्त अवसरमा नेपाली जनसम्पर्क समिति बेलायतका तर्फबाट मन्त्री खतिवडालाई एक ज्ञापनपत्र समेत बुझाइयो । कार्यक्रमको स्थलगत भिडियो रिपोर्ट क्यामरामा प्रकाश कंडेल____






