पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानको अफिस सवारीबारे यसै हप्ता अनलाइनमा बहस सुरु भएको छ । इमरान खानको नीजि घर उनको सरकारी आवासभन्दा १५ किलोमिटर टाढा छ र उनी होलिकोप्टरमार्फत यात्रा गर्छन् ।
इमरानले प्रधानमन्त्री बनेपछि सरकारी कर्मचारी र नेताको खर्चमा कटौतीको कुरा गरेका थिए । १५ किलोमिटर टाढा रहेको अफिस हेलिकोप्टरमार्फत आवतजावत गर्ने भन्दै इमरान निशानामा परेका हुन् ।
थुप्रैले यसमा प्रश्न उठाएर प्रधानमन्त्री अफिस जाने तरिकालाई ‘भिभिआइपी’ को संज्ञा दिए ।
सोसल मिडियामा थुप्रैले यसको खिल्ली उडाए र प्रधानमन्त्री अफिस जाने तरिकालाई ‘भिभिआइपी’ को संज्ञा दिए ।
आलोचना सुरु हुने बित्तिकै पाकिस्तानका सूचनामन्त्री फवाद चौधरी आफ्ना नयाँ प्रधानमन्त्रीको बचाउमा उत्रिए ।
उनका अनुसार हेलिकोप्टरमा यात्रा गर्नु निकै सस्तो विकल्प हो । हेलिकोप्टरबाट एक किलोमिटरको यात्रा गर्दा ५५ रुपैयाँमात्र खर्च हुने उनले दाबी गरे ।
तर जब बीबीसी उर्दूले उनको यो दाबीको खोजी गर्यो तब पत्ता लाग्यो कि हेलिकोप्टरमा प्रयोग हुने इन्धनको मूल्य एक हजार ६ सय प्रति किलोमिटर आउँछ । इन्धनबाहेक हेलिकोप्टरमा विभिन्न खर्च पनि हुने गर्छन् ।
यसबारे जानकारी पाउने बित्तिकै मानिसहरुले प्रधानमन्त्री इमरान खानलाई ट्रोल गर्न सुरु गरे । सोमबार पाकिस्तानमा #Helicopter टप ट्रेन्डमा थियो ।
यो ह्याशट्यागसहित १६ हजार बढीले ट्वीट गरे । सूचनामन्त्रीको दाबीलाई पनि धेरै मानिसहरुले मजाक बनाए ।
फरहान इजाजले लेखे, ‘भारत जाने प्याकेज –प्रतिघण्टा ५५ मा उपलब्ध । ’
सदिया शौकतले ट्वीट गरिन्, ‘अर्थात्, अब हेलिकोप्टर उबरभन्दा पनि सस्तो भयो । त्यसो भए सरकारले सबै मानिसहरुका लागि हेलिकोप्टर सेवा नै सुरु गर्नु पर्छ ता कि सर्वसाधारणले पनि केही पैसा बचाउन सकून् ।’
सूचनामन्त्री फवाद चौधरीले हेलिकोप्टर प्रयोग गर्नुको अर्को कारण पनि बताए ।
उनले भने, ‘प्रधानमन्त्री भिआईपी कल्चरका कारण हेलिकोप्टरबाट यात्रा गरेका होइनन् । यो उनको सुरक्षाका लागि पनि आवश्यक छ ।’
‘प्रधानमन्त्रीका दुई विकल्प थिए – या त उनी कारमा यात्रा गर्थे या त हेलिकोप्टरमार्फत । कारमा यात्रा गर्दा उनी ट्राफिकमा फस्ने डर हुन्थ्यो । भिआईपी कल्चर र सेक्युरिटी प्रोटोकलमा फरक हुन्छ ।’
एजेन्सी






