काठमाडौं । अमेरिकाको पूर्वोत्तर भागमा अचानकको बाढी र आँधीबेहरीको चपेटामा परी कम्तीमा ४६ जनाको मृत्यु भएको छ । जसमा एकैपरिवारका तीन जना नेपाली पनि परेका छन् । मृत्यु हुनेमा सोलुखुम्बुको दूधकुण्ड नगरपालिका २ घर भई अहिले न्यूयोर्कमा बस्दै आएका आङगेलु लामा, पत्नी मिङमार शेर्पा र १९ महीनाका छोरा लोप्साङ लामा रहेका छन् ।
लामा परिवार न्युयोर्कको क्विन्सस्थित उडसाइड स्थित सिक्सटि फोर स्ट्रीट फोरको बेस मेन्टमा बस्दै आएका थिए । आङ गेलु लामा विगत १४ बर्षदेखिन न्युयोर्कमा बसोबास गदै आइरहेका थिए ।
न्यूजर्सी राज्यमा २३ जना, न्यूयोर्क सहरमा मात्र १४ जनाको मृत्यु भएको छ । त्यसमा एकजना दुई वर्षका बालक पनि छन्। मारिनेमा ११ जना भवनहरूका सबैभन्दा तल्लो तलामा डुबेका थिए। पेन्सलभेनियाको फिलडेल्फिया नजिकै तीनजना र कनेटिकटमा एकजनाको निधन भएको छ।
न्यूयोर्क र न्यूजर्सी राज्यमा अस्वाभाविक वर्षाका कारण केही बासिन्दाहरू बाढीमा फसेका कारहरू र भवनहरूका सबैभन्दा मुनिको तलामा फसेका छन्। मौसमविद्हरूले एक दिनमा ३ देखि ६ इन्चसम्म पानी पर्छ भनेकोमा सेन्ट्रल पार्कमा एक घण्टामै ३.१५ इन्च पानी परेको बताएका छन् ।
राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तन सङ्कटसँग जुझ्नका निम्ति ऐतिहासिक लगानी आवश्यक पर्ने बताएका छन्। उनले अहिले अमेरिकाले देशैभरि जलवायुसम्बन्धी सङ्कट भोगिरहेको र त्यसको सामना गर्नु भनेको जीवन वा मरणको सवाल भएको बताएका हुन् ।







