एनआरएन आइसीसी महिला संयोजकमा संगीता मरहट्टाको उम्मेदवारी घोषणा

लन्डन ।गैरआवासीय नेपाली स‍ंघका जुनसुकै जिम्मेवारीमा रहंदा पनि सक्रियता पूर्वक खटिन सक्ने पात्रको छवि बनाएकी संगीता मरहट्टाले स‍ंघको आसन्न महाधिवेशनमा महिला संयोजक पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेकी छन् ।

एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय रहंदै आएकी बेलायतवासी अभियन्ता संगीता मरहट्टाले उक्त पदमा उम्मेद्वारी दिने भएकी हुन् ।

यसअघि एनआरएनए आइसीसी र एनसीसी यूकेका महत्वपूर्ण जिम्मेवारीमा रहेर भूमिका निभाइसकेकी मरहट्टाले महिला संयोजक पदमा उम्मेद्वारी दिने निश्चय गरेको लण्डन नेपाल न्यूजलाई बताइन् ।

‘मेरा सहकर्मी, अग्रज र शुभेच्छुक सबैसँगको सल्लाह र छलफलपछि महिला संयोजकमा उम्मेद्वारी दिने निर्णय लिएकी छु’, लण्डन नेपाल न्यूजसँग कुरा गर्दै उनले भनिन्, ‘अहिलेसम्म मैले आर्जन गरेको अनुभव, सिकाइ र क्षमतालाई सदुपयोग गर्दै यो भूमिकालाई न्याय गर्न सक्छु भन्ने आत्मविश्वास छ ।’

सन् २०१७-१९ मा आइसीसीको युरोप क्षेत्रीय महिला उपसंयोजक रहेकी मरहट्टा अहिले मानार्थ परिषद सदस्य छन् । त्यसअघि सन् २०१५-१७ मा उनले आइसीसी सदस्य तथा २०१३-१५ मा एनसीसी यूकेको सचिवको जिम्मेवारी सम्हालेकी थिइन् । सन् २०११ मा एनआरएनए यूकेको कार्यसमिति प्रवेश गरेकी उनले महिला संयोजकको भूमिका पनि निभाएकी थिइन् ।

एनआरएनए यूकेमा महिला संयोजक रहंदा उनले नारी दिवस मनाएर च्यारिटीमा सहयोग गर्ने कार्य शुरु गराएकी थिइन्। पछि युरोप महिला उपसंयोजकको भूमिकामा हुँदा पनि उनी युरोपका कयौं मुलुक पुगेर स्थानीय नेपालीमहिलाहरुको सहभागिता र सशक्तिकरणका लागि निरन्तर खटिएकी थिइन् ।

आइसीसी महिला संयोजक पदको उम्मेद्वारका रुपमा मरहट्टाले एनआरएनएमा महिलाहरुको सक्रिय सहभागितालाई प्रवर्द्धन् गर्ने प्रमुख एजेण्डा अघि सारेकी छन् । जसका लागि सबै मुलुकस्थित एनसीसीहरुमा महिला फोरमलाई मजबुत पार्ने गरी कार्यक्रमहरु ल्याउने उनको योजना छ ।

त्यस्तै, विदेशस्थित व्यवसायी तथा प्रोफेशनल महिलाहरुको संजाल तयार गर्ने, सीप तथा तथा क्षमता विकास एवम् बिस्तार गर्ने, खाडी मुलुकका महिलाहरुको समस्या उजागर गर्ने, वैदेशिक रोजगार र महिला स्वास्थ्यका क्षेत्रमा समन्वय गर्ने र सशक्त आवाज उठाउने जस्ता एजेन्डा पनि उनका प्राथमिकतामा छन् ।

पत्रकारितामा लामो समय बिताएकी उनले बीबीसी नेपाली सेवा, सगरमाथा सामुदायिक रेडियो लगायतका प्रतिष्ठित मिडियाहरुमा काम गरेकी थिइन् ।

नेपालमा त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा अंग्रेजी साहित्यमा स्नातक मरहट्टाले बेलायतकै प्रतिष्ठित वेष्टमिनिष्टर विश्वविद्यालयबाट पत्रकारितामा मास्टर्स गरेकी छन् । त्यस्तै, उनले बेलायतको थमसन फाउन्डेसनको उच्च शिक्षा छात्रवृत्तिअन्तर्गत प्रसारण पत्रकारितामा डिप्लोमा समेत पूरा गरेकी छन् ।

विगत २१ वर्षदेखि बेलायत बस्दै आएकी मरहट्टा अहिले एक सफल व्यवसायीका रुपमा स्थापित छन् ।