कुनै सहमति बनिसकेको छैन

काठमाडौं, १९ भदौ  । कांग्रेस, एमाले र एकीकृत माओवादीले सबै पक्षका माग सम्बोधन गर्ने गरी संविधानको विधेयकमा संयुक्त संशोधन प्रस्ताव राख्ने तयारी गरेका छन् । संयुक्तरुपमा संशोधन प्रस्ताव राख्ने विषयमा सहमतिनजिक पुगे पनि संशोधन प्रस्ताव राख्न थप समय दिने/नदिने भन्ने विषयमा दलहरुबीच सहमति बन्न सकेको छैन । संशोधन प्रस्ताव राख्नका लागि दिइएको एक साताको समयको शनिबार अन्तिम दिन हो ।
सिंहदरबारमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिककोसमेत सहभागितामा भएको बैठकमा संघीय आयोगमार्फत् संघीय प्रदेशहरुको सीमांकनको टुंगो लगाउने, थारु, मुस्लिम र जनजाति आयोग गठन गर्ने तथा संवैधानिक इजलास गठन गर्ने विषयमा सहमति बनेको एमाले नेता माधवकुमार नेपालले जानकारी दिए । तर, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भने दलहरुबीच कुनै सहमति बनिनसकेको बताए । बैठकमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले संशोधन प्रस्ताव राख्न थप १५ दिनको समय दिन प्रस्ताव गरेको बुझिएको छ ।
यस्तै, एकीकृत माओवादीले एक साताको समय थप गर्न सकिने धारणा राखेको थियो । यसअघि शनिबारै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठकले संयुक्तरुपमा संविधानको विधेयकमा संशोधन प्रस्ताव राख्ने विषयमा सैद्धान्तिक सहमति बनेको थियो ।