चितवन- भरतपुर महानगरपालिका वडा नं. १९ मा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । वैशाख ३१ मा भएको निर्वाचनपछि मतगणना भइरहेका बेला माओवादी केन्द्र–कांग्रेसकी साझा उम्मेदवार रेणु दाहालले हार्ने अवस्था आएपछि माओवादीका दुई कार्यकर्ताले यो वडाको मतपत्र च्यातेका थिए ।
मतपत्र च्यातिएपछि भएको विवादमा सर्वोच्च अदालतले पुनःनिर्वाचन गर्नुपर्ने फैसला सुनाएपछि शुक्रबार यहाँ कडा सुरक्षाकाबीच मतदान भएको हो । यहाँ जम्मा ३७९७ जना मतदाता रहेकोमा २८७० मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शुक्रबार ७५.५८ प्रतिशत मतदाताले भोट हालेका छन् । पहिलो चरणको निर्वाचनमा यहाँ २८९७ मत खसेको थियो । यो पटक पहिलो चरणमा भन्दा २७ मत कम खसेको हो ।
भरतपुर वडा नम्बर २० को ४३४१ मतमध्ये ३३०२ मतसहित भरतपुर १९ को शुक्रबारको मतसहित यहाँ ६१७२ मत गन्न बाँकी छ । यसअघि यहाँ एमालेका उम्मेदवार देवी ज्ञवालीको ४०९८० मत थियो ।
त्यसैगरी दुर्इ दलकी साझा उम्मेदवार रेणु दाहालको ४०१९६ मत थियो । त्यो बेला यहाँ देवी ७८४ मतले अगाडी थिए । यहाँका २९ वडामध्ये एमाले १४, कांग्रेस १० र माओवादी केन्द्र ३ वटा वडामा विजयी भएको थियो ।






