एकैपटक तीनवटा निर्वाचन गर्न सकिन्न, दशैँ, तिहार र छठलाई निर्वाचन चाडको रुपमा मनाऔँ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले एकै पटक तीनवटा निर्वाचन गर्न नसकिने प्रष्ट पारेका छन् ।
यादवले एकै पटक निर्वाचन गर्ने कुरा आएपनि त्यो प्रक्रिया जटिल हुने बताउँदै छोटो समयको अन्तरालमा तीनवटा चुनाव गर्ने कार्ययोजना निर्वाचन आयोगले अघि सारेको जानकारी दिएका हुन् ।

राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै यादवले भने, ‘धेरै वटा चुनाव गर्न बाँकी भएकाले एकै पटक सबै निर्वाचन किन नगर्ने भन्ने कुरा आएको छ । तर, एउटै मतदान केन्द्रमा चारवटा मतपेटिका राखेर निर्वाचन गर्न व्यवस्थापकीय दृष्टिकोणले कठिन छ ।

त्यस्तै संवैधानिक दृष्टिकोणले पनि यो कठिन छ ।’
उनले एकै पटक निर्वाचन गर्दा मतदाता नामावली लगायत विषयमा जटिलता हुने र यसले मतदातालाई झन्झट हुने बताए ।

एकै पटक निर्वाचन गर्नुभन्दा पनि छाटो समयको अन्तरालमा बाँकी तीनवटा निर्वाचन गर्नुपर्ने यादवको सुझाव थियो ।
यादवले निर्वाचन आयोगले प्रदेशसभा, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति तय गर्न प्रधानमन्त्रीलाई सुझाव प्रस्तुत गरिसकेको पनि जानकारी दिए ।

उनले निर्वाचन आयोगलाई आफ्नो नियमित काम अघि बढाउन निर्वाचनको मिति आवश्यक भएको बताउँदै आयोगले प्रधानमन्त्रीलाई असोजको तेस्रो हप्ता प्रदेशसभा, कार्तिकको पहिलो–दोस्रो हप्ता राष्ट्रिय सभा तथा मंसिरको पहिलो हप्ता प्रतिनिधि सभा गर्न सुझाव कार्ययोजना प्रस्तुत गरेको जानकारी दिए ।
यादवले श्रावण १५ भित्र बाँकी निर्वाचनका लागि आवश्यक कानुन पारित हुनुपर्ने र प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन क्षेत्र निर्धारण प्रतिवेदन आयोगलाई प्राप्त भइसकेको हुनुपर्ने बताए ।
यी कुरा भएपछि मात्र आयोगले आफ्नो तयारीहरुलाई अघि बढाउन सक्ने स्पष्ट पारे ।