काठमाडौँ – सरकारका कामबारे प्रधानमन्त्री र मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने गरी पारित भएको कार्यविधि कार्यान्वयनमा नआई थन्किएको छ । समसामयिक विषयमा प्रधानमन्त्री र मन्त्रीसँग संसद् बैठकमा प्रत्यक्ष सवाल–जवाफ लिने गरी कार्यविधि बने पनि हालसम्म एउटा प्रश्न पनि दर्ता भएको छैन ।
कार्यविधि कार्यान्वयनका लागि संसद् सचिवालय र सरकार दुवैले चासो दिएका छैनन् । संसद्को दोस्रो अधिवेशनबाट कार्यविधि पारित भए पनि कार्यान्वयनमा आएको छैन ।
संसद्ले गत पुस २५ गते कार्यविधि पारित गरेको थियो । तर ६ महिनासम्म पनि कार्यविधि कार्यान्वयन भएको छैन । संसद् सचिवालयका सहायक प्रवक्ता डिल्लीराम रिज्यालले कार्यविधि पारित भए पनि कार्यान्वयन प्रक्रिया अघि नबढेको बताउनुभयो । रिज्यालले भन्नुभयो, “प्रत्येक महिनाको पहिलो आइतबार प्रधानमन्त्री र बुधबार मन्त्रीसँग सांसदले विभागीय मन्त्रालयका कामकारबाही र सार्वजनिक सरोकारका विषयमा प्रश्न गर्न पाउने गरी कार्यविधि बनेको हो । तर, कार्यान्वयनमा भने गएको छैन । ’






