चितवन- नेकपा (एमाले) चितवनले पत्रकार सम्मेलनको आयोजना गरी गएराति मतपत्र च्यातिएपछि अवरुद्ध मतगणना कार्य तत्काल सञ्चालन गर्न माग गरेको छ ।
पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले माओवादी केन्द्र नेतृत्वको निर्देशनमा उक्त पार्टीका द्रोर्णबाबु शिवाकोटी, मधु न्यौपाने र दिलीप पौडेललगायतले मतपत्र च्यातेको भन्दै उनीहरुलाई कानुनी कारबाहीसमेत गर्न माग गर्नुभयो ।
भरतपुर महानगरपालिका वडा नं १९ को शान्तिपूर्ण ढङ्गले मतगणना भइरहेको समयमा मतपत्र च्यातिएको सो अवसरमा जारी विज्ञप्तिमा जनाइएको छ ।
मतपत्र च्यातिएपछि तत्काल घटनाको बारेमा सत्यतथ्य जानकारी मिडियामार्फत दिन र च्यातिएका मतपत्र अलग राखी बाँकी मतपत्र गणना गर्नुपर्छ भन्ने निर्वाचन अधिकृतसमक्ष माग राखेको भए पनि निर्वाचन अधिकृतले मागलाई सुनुवाइ नगरी गणना कार्य स्थगित गरिएको भन्दै सोको विज्ञप्तिमा विरोध गरिएको छ ।






