शीतल निवासमा बिहेको चटारो

काठमाडौं – शीतल निवासमा केही दिनदेखि विवाहको चटारो छ ।

राष्ट्रपति विद्यादेवि भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहको तयारी सकिएको छ । उनको विवाहको लगन सोमबारलाइ जुराइएको छ ।

निशाकुसुमको गणतन्त्र नेपालको पहिलो राष्ट्रपति रामवरण यादवका भतिजा अभिशेकसँग विवाह हुन लागेको हो ।

दुलाहा बन्न लागेका अभिशेक पूर्वराष्ट्रपति यादवकी भतिजी एवम् महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । दुई महिनाअघि नै दुलाहा, दुलहीबीच शीतल निवासमा इन्गेजमेन्ट टिकाटालो भएको थियो ।

विद्यालय तहदेखिका सहपाठी अभिषेक र निशाकुसुमबीच विवाहको प्रसंग केही वर्षदेखि नै चलेको थियो । अध्ययनलगायत कारणले पछि सरेको हो । समावेशीको नमुनासमेत रहेको यस विवाहले पूर्व र वर्तमान राष्ट्रपति परिवारलाई पारिवारिक साइनोमा बाँधेको छ ।

‘विवाहको तयारी लगभग सकिएको छ,’ राष्ट्रपतिका जनसम्पर्क सचिव जीवछ साहले भने । सोमबार बिहान १० बजे राष्ट्रपति निवासको पुरानो भवनमा वैवाहिक कार्यक्रम राखिएको छ ।

कोसी हलको अघिल्तिरको खाली भागमा जग्गे तयार पारिएको छ । विवाह समारोह झकिझकाउ बनाउने काम भइसकेको छ । तर, स्रोतले दिएको जानकारीअनुसार वैवाहिक कार्यक्रमलाई भने संक्षिप्त र सामान्य नै बनाइएको छ ।

राष्ट्रपति भण्डारीले दुलाहा पक्षलाई पनि बढी तामझाम नगर्न सुझाव दिएको स्रोतले जानकारी दिए । सामाजिक व्यवहार सुधार ऐनमा ५१ जनाभन्दा बढी जन्ती ल्याउन नहुने उल्लेख छ । राष्ट्रपतिका तर्फबाट पनि धेरै निम्तालु छैनन् ।