तनहुँमा जीप दुर्घटना ३ जनाको मृत्यु

तनहुँ । तनहुँमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा आईतबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक महिला र दुई पुरुष गरी ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृतकको पहिचान हुन बाँकी रहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि चितवन पठाइएकामा तीनको मृत्यु भएको जानकारी प्राप्त भएको उनले बताए ।

मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटा सुमो एकआपसमा ठक्कर खाएको थियो । घाइतेहरूलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको थियो ।

दुर्घटनामा घाइते हुनेमा शुक्लागण्डकी नगरपालिका बस्ने ८० वर्षीय दामोदर पुरी, आँबुखैरेनी गाउँपालिका-४ बस्ने २८ वर्षीया देविका थापामगर, सोही ठाउँका १८ वर्षीया आरती खवास र गोरखाको गण्डकी गाउँपालिका-१ बस्ने ३८ वर्षीया डिनमया नेपाली रहेको प्रहरीले जनाएको छ ।