काठमाडौँ, १५ जेठ । नारायणहिटी दरबार परिसरको पूर्वी भागमा बन्दै गरेको ‘गणतन्त्र स्मारक’ निर्माण कार्य पाँच वर्ष बितिसक्दा पनि सकिएको छैन ।
सरकारको २०६९ मङ्सिर २२ गतेको निर्णयानुसार ‘गणतन्त्र स्मारक’ निर्माणका लागि निजी कम्पनी ‘विकोइ स्काइ बङ्गलामुखी ज्वाइन्ट इन्भेन्चर (विकोइ विल्डर्स’ प्रालि, स्काइ विल्डर्स प्रालि र बङ्गलामुखी कन्स्टक्सन प्रालि)लाई तीन वर्षमा स्मारक निर्माण गर्ने जिम्मा दिइए पनि पाँच वर्ष बितिसक्दा समेत निर्माण कार्य नसकिएको हो ।
पैतीस रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको स्मारकका लागि सुरुमा सरकारले रु ३५ करोड छुट्याए पनि खर्च अपुग भएका कारण पछि थप रु पाँच करोड थपिदिएको थियो ।
कम्पनीका कार्यकारी निर्देशक रोशन श्रेष्ठले सरकारले निर्णय गरेर काम अगाडि बढाउन जिम्मा दिए पनि भूकम्प र नाकाबन्दीका कारण ढिला भएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो “काम अन्तिम चरणमा पुगेको छ, स्मारकमा राख्न हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने नेपालको नक्सा नआइसकेकाले काम ढिला भएको छ ।”






