काठमाडौं – गृह मन्त्रालयले नेपाल प्रहरीका ३९ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा गरेको छ ।
बुधवार राति अबेरसम्म गृहमन्त्रालयमा बसेको मन्त्रिस्तरीय बैठकले लामो समयदेखि रोकिएको एसएसपी सरुवाको गाँठो फुकाएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा छविलाल जोशी आएका छन् । यसअघी उनी अञ्चल प्रहरी कार्यालय धौलागीरीमा कार्यरत थिए । विक्रम सिंह थापाले अनिवार्य अवकास पाएपछी काठमाडौंको प्रहरी प्रमुखको पद खाली थियो ।
त्यस्तै महानगरीय प्रहरी परिसर ललितपुरको प्रमुखमा एसएसपी ठुले राईलाई ल्याइएको छ । महानगरीय अपराध महाशाखामा दिनेश आमात्य आएका छन् । यसअघी महाशाखामा कार्यरत सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् ।
बाग्मती अञ्चल प्रमुखमा पुष्पचन्द्र रन्जित, अञ्चल प्रहरी कार्यालय नारायणीमा सूर्य उपाध्याय, अञ्चल प्रहरी कार्यालय लुम्बिनीमा दिपक थापा, कोशीमा उत्तमकुमार कार्की, मेचीमा पिताम्बर अधिकारी र अञ्चल प्रहरी कार्यालय सगरमाथामा बलराम शर्मा पौडेललाई पठाईएको छ ।
महानगरीयप प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी शरद चन्दलाई बुटवल तालिम केन्द्रमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।










