ग्यासको चरम अभाव कायमै

नवलपरासीबाट काठमाडौंमा उच्च शिक्षा हासिल गर्ने सपना साँचेर आएका कमलराज काफ्लेको हिजोआजको दैनिकी ग्यास खोज्न भौतारिनुमै सीमित बनेको छ । ग्यासको खोजीमा यो डिपो र डिपो धाउँदा धाउँदै यिनले डेढ महिनाबिना उपलब्धी गुजारेका छन् । ग्यास नपाएकै कारण उनले यस अवधि या त आफन्तकोमा पाउँना लागेका छन् या त साथीभाइको आश्रयमा घुस्रिएका छन् ।
यहिबीचमा कालोबजारी गर्ने व्यापारीहरुलाई ठेगान लगाउन भन्दै सरकारले काठमाडौंको टेकूस्थित नेशनल ट्रेडिङ लिमिटेडमा ग्यास वितरण गरेको खबर सुनेपछि यिनी रित्तो ग्यासको सिलिण्डर बोकेर यहाँ हान्निएर आइपुगे । तर, हात लाग्यो शून्य । व्यापारीहरुले कार्टेलिङ गर्दै कालोबजारी गरेको निष्कर्ष सहित आयल निगम र नेशनल ट्रेडिङले आइतबारदेखि ग्यास वितरण केन्द्र स्थापना गरी सर्वसाधारणलाई ग्यास विक्री गरेको थियो ।
कालोबजारी गर्ने व्यापारीलाई पाता कसेर कानूनी कठघरामा उभ्याउनुको साटो निरिह बनेको सरकारले गरेको यो निर्णय पनि दुई दिन टिकेन् । बरु, यो निर्णय गर्ने निगमका कार्यकारी निर्देशकलाई नै हटाइयो ।
भट्टको पद चट् भएसँगै यो व्यवस्था नै रोकिएपछि यहाँ पुगेका सर्वसाधारण थप मारमा परेका हुन् । महिनौसम्म ग्यास नपाउँदाको पिडा त एकातिर छदैछ, ग्यास सिलिण्डर बोकेर दौडदा दौडदै ग्यास किन्ने पैसा त ट्याक्सीमै स्वाहा भएको छ । निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले भने नेशनल ट्रेडिङले ग्यास वितरण व्यवस्थित गर्न नसकेका कारण रोकिएको तर्क गरे ।
सरकारी अधिकारीहरुले जे जस्तो तर्क गरेपनि महिनौ अघिदेखि ग्यासमा देखिएको कालोबजारी र कृत्रिम अभाव अन्त्य गर्ने प्रतिबद्धता उनीहरुले यसअघि पटक पटक गरेका हुन् । तैपनी न त यो कालोबजारी अन्त्य भएको र न त कृत्रिम अभाव नै हटेको छ । यसले त बजारमा मनपरि गर्ने छुट दिन स्वयम् सरकारी अधिकारीहरु नै संलग्न भएका हुन् की भन्ने आशंका आम उपभोक्ताले गर्न थालेका छन् ।