हिंसात्मक बन्दै मोर्चाको आन्दोलन


AMBULANCEकाठमाडौं- छठपछि कडा आन्दोलनको घोषणा गरेको मधेसी मोर्चाले हिंसाका घटना थप वृद्धि गरेको छ ।

शुक्रबार विराटनगरमा बिरामी बोकेको एम्बुलेन्समा आक्रमण र वीरगन्जमा औषधि बोकेको ट्रकमा आगजनी गरेको मोर्चाले शनिबार पनि हिंसा जारी राख्यो ।

आन्दोलनकारीहरूले बिरामी बोकेको एम्बुलेन्समा फेरि आक्रमण गरेका छन्।

विराटनगरको गोल्डेन अस्पतालबाट धरान रिफर गरेको विरामी शरध्वज तामाङलाई लिँएर जाँदै गरेको को १ च ४७१५ नम्बरको एम्बुलेन्समा आन्दोलनकारीले सुनसरीको दुहबीमा आक्रमण र तोडफोड गरेका छन्। उनीहरूको आक्रमणबाट एम्बुलेन्स चालक आनन्द विक गम्भीर घाइते भएका छन्।

सुनसरीको दुहबी बजारमा वृहत नागरिक समाज सुनसरी क्षेत्र नम्बर ३ ले निकालेको र्‍यालीपछिको कोणसभामा संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आक्रमण गरेका छन् ।

। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको स्वरुपमा केही परिवर्तन गरे पनि आन्दोलनकारीले वीरगञ्जमा प्रदर्शनलाई झन उग्र पारेका छन्।

मोर्चा कार्यकर्ताले शनिबार बिहानैदेखि वीरगञ्जमा विभिन्न स्थानमा प्रदर्शन गर्दै मोटरसाइकलसमेत तोडफोड गरेका छन्।

जनकपुरमा टिफिन क्यारियरमा राखेको बम बिस्फोट हुँदा एकजना गम्भीर घाइते भएका छन् । जनकपुरको पिपरिया-४, माइस्थानस्थित लट्टु भनिने नरेश यादवको घरमा डेरा गरी बस्ने सिरहा, गौरीपुर-९का १८ वर्षीय श्रवणकुमार यादवको कोठा बाहिर रहेको टिफिन क्यारियरमा रहेको बम बिस्फोट हुँदा श्रवणकुमार सख्त घाइते भएका छन् ।