काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार मधेसी मोर्चाका नेताहरुसँग छलफल गरेका छन् ।
संविधान संशोधन र चुनावको विषयमा केन्द्रीत आजको छलफलपछि बाहिरिँदै मोर्चाका नेताहरुले यस्तो प्रतिक्रिया दिएका छन् :
महन्थ ठाकुर, अध्यक्ष, तमलोपा
–प्रधानमन्त्रीले संविधान, नागरिकता, भाषा, प्रतिनिधित्व लगायतका विषयमा कुरा राख्नुभयो, यी विषय तत्काल गर्ने र सिमाङ्कन पछि गर्ने, संविधानको केही धाराहरु चाँही संशोधन गर्नेबारे धारणा राख्नुभयो ।
–आज हाम्रो मोर्चाको बैठक हुँदैछ, उहाँको कुरालाई हामी मोर्चाको बैठकमा राख्छौँ । त्यहाँ जे निर्णय हुन्छ हामी त्यही अनुसार अगाडि जान्छौँ ।
–सरकारलाई दिएको समर्थन फिर्ता भइसकेकोमा कुनै शंका छैन त्यो भइसक्यो । कांग्रेस एमाले माओबादीसँग हाम्रो कहिले पनि गठबन्धन बनेको छैन । यदी यहाँहरुले समर्थन फिर्ताको चिठी चाहनुहुन्छ भने हामी सभामुखलाई लेखेर पठाइदिन्छौँ ।
–हाम्रो धारणा स्पष्ट छ, हामीले पटक–पटक भन्दै आएका छौँ, सीमाङ्कन बिनाको संविधान संशोधन हामीलाई स्वीकार्य छैन ।
सरकारबाट समर्थन फिर्ता नलिन भन्दै मोर्चालाई प्रधानमन्त्रीको यस्तो प्रस्ताव
राजेन्द्र महतो, अध्यक्ष, सद्भावना पार्टी
–संविधान संशोधन लगायत मोर्चाको माग अनुसारको स्थानीय तहको संरचना र संख्या लगायतका विषयमा सरकार पुर्नबिचार गर्न तयार रहेको छ, संशोधनका लागि पनि तयार रहेको छ, केही प्रस्तावहरु सरकारको तर्फबाट आएको छ । मोर्चाको बैठक अहिले हुँदैछ, हामी त्यसमा छलफल गर्र्छौ । मोर्चाको निर्णय अनुसार हामी अघि बढ्छौँ ।
–मैले के बुझेको छु भने संविधान संशोधन गरेर सबै समस्या समाधान त गर्ने तर सिमाङ्कन सम्बन्धमा आयोग बनाएर त्यसमार्फत मापदण्डहरु राखेर एउटा समयसीमा निर्धारण गरेर आगामी संसदीय र प्रान्तिय निर्वाचन भन्दा पहिले नै सिमाङ्कन सम्बन्धी समेत संविधान संशोधन गरेर समस्या समाधान गरेर बाँकी मुद्धामा अहिले नै संशोधन गरेर समाधान गर्ने ।
–गाँउपालिकाको जनसंख्याको आधारमा गर्ने, भोटिङ अधिकार माथि दिएको पनि हटाँउने, प्रान्तको स्थानीय तह रहने लगायत यी सबै कुराहरु आएको छ ।
–हामीले यी सबै विषयमा मोर्चाभित्र छलफल गरेर गर्ने मोर्चाको जे निर्णय हुन्छ त्यही अनुसार गर्ने भन्यौँ ।






