नेपालमा वैदेशिक लगानीका क्षेत्र पहिचान तथा विदेशी लगानी प्रवद्र्धन गर्ने उद्देश्यले आज मलेसियाको राजधानी क्वालालम्पुरमा नेपाल लगानी सम्मेलन आयोजना गरियो । सम्मेलनको उद्घाटन सहरी विकासमन्त्री डा नारायण खड्का र भारत तथा दक्षिण एसियाका लागि मलेसियाका विशेष दूत दातुकशेरी भेलुले संयुक्त रुपमा गर्नुभएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । त्यस अवसरमा मन्त्री खड्काले नेपालमा नयाँ संविधान निर्माणको प्रक्रियासँगै वैदेशिक लगानीका विभिन्न क्षेत्र खुला भइसकेकाले ढुक्क भएर लगानी गर्न मलेसियालीलाई आग्रह गर्नुभयो ।
राष्ट्रिय योजना आायोगका उपाध्यक्ष प्रा डा गोविन्दप्रसाद पोखरेलले नेपालमा पूर्वाधार विकासका साथै पर्यटन क्षेत्रमा लागनी गर्न आह्वान गर्नुभयो । मलेसियाका लागि नेपाली राजदूत डा निरञ्जनमानसिंह बस्न्यातले नेपाल भारत र चीनको मात्र नभई दक्षिणपूर्वी एसियाका लागि व्यापारिक मार्गका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेकाले नेपालमा लगानी गर्न अनुरोध गर्नुभयो ।
विशेष दूत भेलुले चीन र भारतबीच अवस्थित नेपालमा लगानी गर्दा प्रतिफल प्राप्त हुने बताउँदै आफ्नो मुलुकका उद्यमी व्यवसायीलाई नेपालमा लगानी गर्न अनुरोध गर्नुभयो । उक्त दूतावासका अनुसार सम्मेलन नेपालको वैदेशिक लगानी नीति, लगानीका सम्भावित क्षेत्र, विद्युत् प्रसारण लाइनजस्ता पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनमा केन्द्रित थियो । सम्मलेनमा अर्थ र भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालयका सचिव, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत, नेपाल नागरिक उडड्यन प्राधिकरणका महाप्रबन्धक, सहरी विकास तथा भवन निर्माण र विद्युत् विकास विभागका महानिर्देशक, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक, नेपाल सरकारका उच्चपदस्थ अधिकारीका साथै दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाका व्यावसायिक एवम् व्यापारिक प्रतिष्ठानका करिब १०० जनाको सहभागिता थियो ।
मलेसियामा नेपाल लगानी सम्मेलन






