नयाँ दिल्ली,११ माघ (एजेन्सी) – अमेरिकी राष्ट्रपति बाराक ओबामा आइतबार बिहान भारत आइपुगेका छन् । भारतको गणतन्त्र दिवसमा प्रमुख अथितिको रुपमा सहभागी हुन ओबामा आइतबार भारत आइपुगेका हुन् ।
अमेरिकाका राष्ट्रपतिद्वारा भारतको गणतन्त्र दिवसको अवसरमा उपस्थित हुन लागिएको यो पहिलो पटक हो ।
ओवामासँगै पत्नी मिसेल ओवामा पनि भारत भ्रमणमा आएकी छिन् ।
ओवामाको स्वागतका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रोटोकल मिचेर आफैं दिल्ली एयरपोर्ट पुगेका थिए ।
भारतमा विदेशी राष्ट्रप्रमुखले भ्रमण गर्दा विदेश राज्यमन्त्रीले स्वागत गर्न जाने प्रचलन छ । मोदी यो पुरानो प्रचलनलाई तोड्दै ओबामाको स्वागतका लागि आफैं एयरपोर्ट पुगेका हुन् ।
ओबामा स्थानीय समयअनुसार बिहान ९ः४० बजे पालम विमानस्थलमा ओर्लएका थिए । ओबामाको स्वागतका लागि विमानस्थल पुगेका मोदीले हात मिलाउनुका साथै अंकमाल गरेर उनको स्वागत गरेका छन् ।
तीन दिने भ्रमणका लागि भारत पुगेका ओबामा र मोदीबीच दुई पक्षीय सम्बन्ध लगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।






