काठमाडौं, ११ माघ । संविधानसभामा अवरोधका बीचमा सभामुख सुवास नेम्बाङले प्रश्नावली समितिको प्रस्ताव पेश गर्ने तयारी गरिरहँदा एमाओवादी अध्यक्ष प्रचण्ड र डा. बाबुराम भट्टराई राष्ट्रपति रामवरण यादवसँग शीतलनिवास पुगेर छलफल गरेका छन् । आइतबार बिहान राष्ट्रपति यादवले दुवैलाई छलफलका लागि बोलाएका थिए ।
प्रचण्डका स्वकीय सचिव चुडामणि खड्का अनुसार छलफलमा राष्ट्रपतिले दलहरुबीच सहमतिको पहल गर्न आग्रह गरेका थिए । ‘राष्ट्रपतिजीले सहमतिको कुनै विकल्प नरहेको भन्दै अझै पनि सहमतिमै आउनका लागि आग्रह गर्नुभयो,’ खड्काले रातोपाटीलाई बताए ।
हिजोमात्र विपक्षी दलहरुले सभामुख सुवास नेम्बाङलाई भटेर सहमतिको सम्भावना अझै रहेको भन्दै बैठक स्थगीत गरेर छलफलका लागि १० दिन समय दिन माग गरेका थिए । सभामुखले के गर्छन् त्यही अनुसार आफ्नो रणनीति तय हुने विपक्षी दलका नेताहरुले बताएका छन् ।






