पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य तत्काल रिहा गर्न वैद्य माओवादीको माग

काठमाडौं – नेकपा माओवादीका केन्द्रीय सदस्यहरुलाई प्रहरीले पक्राउ गरेकोमा पार्टी अध्यक्ष मोहन वैद्य ‘किरण’ ले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ ।

प्रहरीले पार्टीका केन्द्रीय सदस्य शिवराम यादव, अखिल क्रान्तिकारीका केन्द्रीय सहसंयोजक राम नेपाली र अन्य दुई जना केन्द्रीय सदस्यलाई पक्राउ गरेको थियो ।
पार्टीले चन्दा संकलन गरेको बहाना बनाएर प्रहरीले गिरफ्तार गरेको र बिहिबार जिल्ला अदालतमा चन्दा असुली मुद्दा लगाएर म्याद थप गरेकोमा गम्भिर आपत्ति प्रकट गरेको छ ।

त्यस्तै, झुठा मुद्दाको खारेजी र निर्दोष साथीहरुको रिहाइको निमित्त शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला सुन्धाराबाट पार्टीका केन्द्रीय सचिवालय सदस्य दिनेश शर्मा, पवन श्रेष्ठ, केन्द्रीय सदस्यहरु– शारदा महत, प्रा.डा. जगदीशचन्द्र भण्डारी, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेल, पत्रकारहरु लगायत १५ जनालाई गिरफ्तार गरी पुलिस क्लबमा थुनामा राखिएको पार्टीले जनाएको छ ।

पार्टीले उनीहरुको तत्काल रिहाईको माग गरेको छ । ‘सरकार र प्रहरीको यो निरङ्कुश कारबाहीको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ र गिरफ्तार हुनुभएका सम्पूर्ण साथीहरुलाई अविलम्व रिहाइको माग गर्दछ,’ शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।