राज्य पुनःसंरचनामा चार शक्ति सहमति नजिक

काठमाडौँ, १९ जेठ । चार प्रमुख राजनीतिक शक्ति प्रदेशको नामकरण र सीमाङ्कनलाई विज्ञसहितको आयोगबाट टुङ्गो लगाउने सम्बन्धमा सकारात्मक देखिएका छन् । सङ्घीयताको सङ्ख्याबारे सहमतिमा छिट्टै पुग्न भने दलहरु अझै कसरत गर्दैैछन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा(माओवादी) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताबीच संविधान निर्माण, विपद् व्यवस्थापन र राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा भएको छलफलमा विगतको विवाद मत्थर पार्ने प्रयास भएको र छलफल सकारात्मक भएको नेताहरूले जानकारी दिनुभयो ।
छलफलपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले विवादित विषयमा आफ्ना कार्यसूचीलाई भन्दा देश र जनतालाई माथि राखेर सहमति खोज्नका लागि सकारात्मक कुराकारी भएको बताउनुभयो । नेता ओलीले भन्नुभयो– “भूकम्पको विपत्तिले पनि हामी अल्झेर बस्नेभन्दा देश र जनताको हितलाई सर्वापरि राखेर सहमति जुटाउन लागेका छौँ, मलाई विश्वास छ, सहमति जुट्छ, जुटाउनुपर्छ ।” “प्रदेशको सङ्ख्यामा सहमति हुन लागेको भएको हो” भन्ने प्रश्नमा उहाँको जवाफ थियो, “सहमति हुन्छ, भएपछि सबै जानकारी हुन्छ ।”
बैठकपछि मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारले गत माघ ५ गते भएको अनौपचारिक सहमतिको वरिपरिमा रहेर छदेखि आठ प्रदेश बनाउने गरी छलफल भएको बताउँदै नाम र सीमाबारे विज्ञसहितको आयोगले पछि टुङ्गो लगाउन सक्ने जानकारी दिनुभयो । उहाँले आफूहरुको छलफल ‘कामकाजी’ हुँदै गएको र ‘सहमतिको नजिक’ रहेको पनि बताउनुभयो ।
यही जेठ २१ भित्र संविधान निर्माण, विपद् व्यवस्थापन र राष्ट्रिय सहमतिको सरकार गठनलगायत विषयमा सहमति जुटाउने तयारी गरेका चार दलका शीर्ष नेताबीच आज साँझ ५ बजे पुनः बैठक बस्नेछ ।