एल्सबरीस्थित स्टोक म्यान्डभिल अस्पताल परिसरमा मःमसहित नेपाली परिकारको च्यारिटी मेला, टीका गुरुङ र दुर्गा खनालसहितको टोलीको सक्रियता
लन्डन । नेपालमा हालै गएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको सहयोगार्थ बेलायतमा नेपाली खाना बिक्री गरेर करिब २ हजार ३०० पाउन्ड (झन्डै चार लाख नेपाली रुपैयाँ) आर्थिक सहयोग संकलन गरिएको छ।
बेलायतको बकिङ्घमसरस्थित एल्सबरीमा रहेको स्टोक म्यान्डभिल अस्पताल (Stoke Mandeville Hospital) परिसरमा च्यारिटी कार्यक्रम आयोजना गरी उक्त रकम संकलन गरिएको हो।
अस्पतालमा कार्यरत नेपाली स्वास्थ्यकर्मी टीका गुरुङ र दुर्गा खनालसहितको टोलीको सक्रियतामा उक्त परोपकारी कार्यक्रम आयोजना गरिएको थियो। मातृभूमिमा बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्याएपछि पीडितको घाउमा मल्हम लगाउने उद्देश्यले टोलीले मौलिक नेपाली परिकार बिक्री तथा सहयोग संकलन अभियान सञ्चालन गरेको हो।
कार्यक्रममा नेपालीहरूको लोकप्रिय परिकार मःमसहित विभिन्न परम्परागत नेपाली खानेकुरा तयार पारेर बिक्री गरिएको थियो। अस्पतालमा कार्यरत बेलायती सहकर्मी, स्वास्थ्यकर्मी, बिरामीका कुरुवा तथा स्थानीय बासिन्दाले नेपाली परिकारको स्वाद लिँदै विपद्मा परेका नेपालीका लागि उदारतापूर्वक आर्थिक सहयोग गरेका थिए।
आयोजक टीका गुरुङका अनुसार संकलित सम्पूर्ण रकम नेपालका बाढीबाट अति प्रभावित बस्तीहरूमा राहत तथा पुनर्स्थापनाका लागि पठाइनेछ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने, नेपाली परिकार खरिद गर्ने तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा हातेमालो गर्ने सम्पूर्ण सहयोगीप्रति आयोजक समूहले हार्दिक आभार व्यक्त गरेको छ।
सात समुद्रपारि रहे पनि मातृभूमिमा आइपरेको विपत्तिमा प्रवासी नेपालीहरूले देखाएको सहयोग र सद्भावको स्थानीय समुदायले समेत प्रशंसा गरेको छ।
नेपाली खाना र संस्कृतिको प्रवर्द्धनसँगै मानवीय सेवामा समर्पित यस कार्यक्रमले साना व्यक्तिगत प्रयास र सामुदायिक एकताबाट पनि विपद्को घडीमा महत्त्वपूर्ण योगदान पुर्याउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।






