रोल्पामा तीन सयभन्दा बढीको उपचारपछि डा केसी काठमाडौं फर्किए

रोल्पा– चिकित्सा क्षेत्रको विसङ्गति अन्त्यको माग गर्दै नवौँ सत्याग्रहको घोषणा गरेका डा गोविन्द केसीले रोल्पाको सुलिचौरको प्राथमिक स्वास्थ्य केन्द्रमा चलाएको दुई दिने स्वास्थ्य शिविरमा करिब ३५० बिरामीको उपचार भएको छ ।

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा केसी झोलामा औषधि बोकेर बुधबार रोल्पा पुगेका थिए । शिविर सम्पन्नपछि उनी आज बिहानै बसबाट काठमाडौँ फर्किएको स्वास्थ्य केन्द्र सुलिचौरका प्रमुख डा मिलन बज्राचार्यले बताए ।

अन्य समयमा दैनिक ३० देखि ४० जना बिरामी आउने प्राथमिक स्वास्थ्य केन्द्रमा शिविरका दिन बिरामीको भिड नै लागेको डा बज्राचार्यले बताए । “बिहानैदेखि बिरामी लाइनमा लागेका थिए”, स्वयम्सेवकका रुपमा दिनभर खटिएका रेडक्रस जिल्ला शाखा रोल्पाका कोषाध्यक्ष गन्ज क्षेत्रीले भने, “ठूला डाक्टर आएको भन्ने सुनेर हाडजोर्नी बाहेकका बिरामी पनि आएका थिए । जनरल उपचार सबैको गर्नुभयो ।”

शिविरको पहिलो दिनमै उनले करिब सय बिरामीको उपचार गरेका थिए भने दोस्रो दिन २३० भन्दा बढी बिरामीको उपचार भयो ।

डा केसीकै कारण एक सुत्केरी आमाको ज्यान जोगिएको स्वास्थ्य केन्द्रले जनाएको छ । अत्यधिक रक्तश्रावले सिकिस्त बनेकी ती महिलाको डा केसीले उपचार गरेपछि ज्यान जोगिएको थियो ।