काठमाडौं – प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सम्पन्न भएको छ । हैदराबाद हाउसमा भएको द्वीपक्षीय छलफलमा विभिन्न विषयमा छलफल भएको थियो भने छलफलपछि तीन बुँदे सम्झौतामा हस्ताक्षर भएको छ ।
भेटवार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरेका छन् ।
पत्रकार सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यक्त गरेका विचारको मुख्य अंशः
– हाम्रो मैत्रीपूर्ण इतिहासमा आज महत्पूर्ण दिन हो ।
– नेपालका प्रधानमन्त्री प्रचण्डजी र वहाँको डेलिगेसनलाई भारतमा स्वागत गर्न पाउँदा निकै खुसी लागेको छ ।
– दुई देशबीच ऐतिहासिक सम्बन्ध रहेको छ ।
– नजिकको छिमेकी रहेको कारण नेपालको शान्ति, स्थिरता र समृद्धि दुवैको साझा उद्देश्य हो ।
– नेपालको समृद्धिको हरेक पाइलामा सहयात्री बन्न पाउने सुअवसर प्राप्त भएको छ ।
– तपाईंले नेपालमा शान्ति र स्थायित्व स्थापना गर्न ठूलो भूमिका खेल्नु भएको छ । तपाईंको नेतृत्वमा सबै समुदायको चाहनालाई सम्बोधन गर्दै नेपालको संविधान कार्यान्वयन हुनेछ भन्नेमा म विश्वस्त छु । यसका लागि म तपाईंको सफलताको लागि कामना गर्छु ।
– आज भएको छलफलमा मैले द्वीपक्षीय सहकार्यका लागि पूर्ण प्रतिबद्धता व्यक्त गरेको छु ।
– मैले प्रधानमन्त्री प्रचण्डजीलाई भारत नेपालको विकासको सहयात्री बन्न सदैव तयार रहेको बताउन चाहन्छु । नेपालको सरकार र जनताको प्राथमकिताको आधारमा हामी त्यो सदैव गर्न तयार छौं ।
– आज भूकम्पपछिको पुनर्निर्माणका लागि क्रेडिट लाइन सम्झौता भएको छ । यसले भूकम्प प्रभावित भएकाहरुलाई ठूलो राहत पुर्याउने छ भन्ने विश्वास लिएको छु ।
– त्यस्तै तराईको सडक सञ्जाल, ट्रान्समिसन लाइन, कास्कीमा पोलिटेक्निक इन्सिटिच्युटबारेमा पनि सम्झौता भएका छन् ।
– हामीबीच दुई देशको सुरक्षाको बारेमा पनि छलफल भएको छ । खुला सीमाको समस्याको बारेमा छलफल भयो ।
– खुला आकाश, क्रस बोर्डर पावर लाइन, ट्रान्जिट रुट, कनेक्टिभिटीका विषयमा छलफल भएको छ ।
– त्यस्तै सबै विकास परियोजनाहरुलाई समयमा सम्पन्न गर्न अनुगमन गर्ने विषयमा हामीबीच छलफल भएको छ ।






