काठमाडौं , २९ पुस । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमाल संविधानसभा सदस्यमा मनोनित भएका छन् ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको सिफारिसमा मन्त्रिपरिषदबाट मनोनित हुने २६ सभासदभित्रको कोटामा कुमाल सभासद बनेका हुन् ।
कुमाललाई सभासद मनोनित गरिएको जानकारी मन्त्रिपरिषद बैठकबाट नदिई पनि प्रधानमन्त्री कार्यालयबाट उनलाई सभासद मनोनित भएको खबर गरिएको स्रोतले जनाएको छ ।
आदिवासी जनजाति आन्दोलन दुई समूहमा बिभाजन भइरहेका बेला कांग्रेसले महासंघका अध्यक्षलाई सभासद बनाउनुलाई अर्थपूण रुपमा हेरिएको छ ।
यसअघि जनजाति महासंघका महासचिव पेम्बा भोटे एमालेको कोटाबाट मन्त्रिपरिषदबाटै सभासद मनोनित भइसकेका छन् ।
साना दलको कोटा खोसियो
यसैबीच कुमाललाई कांग्रेसको कोटाबाट मनोनित गरिएको भन्ने समाचारमा एमालेका मन्त्रीहरुले आश्चर्य व्यक्त गरेका छन् ।
कांग्रेसले पाएको नौ सभासदको कोटामा यसअघि ९ जना नै मनोनित भइसकेकाले साना दलको कोटा कांग्रेसले लिएको एक एमाले मन्त्रीले बताए ।
उनका अनुसार कुमाललाई मनोनित गर्ने औपचारिक निर्णय पनि भएको थिएन । ‘गत बिहीवारको क्याबिनेट बैठकमा उनलाई सभासद मनोनित गर्ने कुरा आएको हो, तर साना दलको कोटामा अहिलेनै हतार नगरौं भन्ने हामीले सुझाव दिएका थियौं’- ती मन्त्रीले भने ।
पूरानै क्याबिनेट बैठकको निर्णय बनाएर कुमाललाई मंगलवार सभासद मनोनयनको पत्र दिइएको र सपथग्रहण पनि मंगलवारै हुन लागेको स्रोतले जनाएको छ ।






