भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार ओली निवास बालकोटमा डेढ घण्टा लामो भेटवार्ता भएको छ ।
सरकार गठन र पार्टी एकताबारे बाहिर गलत हल्ला चलेपछि आज दुई अध्यक्षबीच भएको भेटवार्तामा पार्टी एकता, नयाँ सरकार निर्माण र राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे गम्भीर छलफल भएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
सञ्चारकर्मीलाई भेटका बारेमा जानकारी दिँदै उहाँले पार्टी एकता, सरकार गठनका बारेमा बाहिर आएका हल्ला गलत भएको भन्दै यसमा कुनै समस्या नरहेको र उहाँहरुबीच एकमत रहेकाले यसलाई छिटो टुंगोमा पुर्याउनेबारे छलफल भएको बताउनुभयो । भेटका क्रममा नयाँ सरकार गठनका लागि सरकारले तुरुन्त बाटो खोलिदिनुपर्नेमा दुई अध्यक्षको एक मत रहेको उहाँले बताउनुभयो ।
पार्टी एकता संयोजन समितिको बैठक थप छलफलपछि भोलि बस्नेबारेसमेत छलफल भएको उहाँले जानकारी दिनुभयो । प्रेस संयोजक अधिकारीले भन्नुभयो, “थप छलफलले ठोस एजेण्डा तय गरेपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने उहाँहरुबीच कुराकानी भएको छ ।”






