चितवन- नारायणगढ–मुग्लिन सडकखण्डमा यही पुस १८ गतेदेखि राति यातायात बन्द गरिने भएको छ ।
सडक विस्तारको काम भइरहेको उक्त सडक खण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने भएको हो । काममा सन्तोषजनक प्रगति भएको नपाइएपछि कामलाई तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय भरतपुरमा आज सम्पन्न सरोकारवालाहरुको बैठकले राति पाँच घण्टा र दिउँसोको समयमा एकतर्फी सवारी सञ्चालन गरेर कामलाई तीव्रता दिने निर्णय गरेको हो । बैठकमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादव, सुरक्षा निकायका प्रमुख, ठेकेदार कम्पनीका प्रतिनिधि, जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।






