काठमाडौं २९ पुस। सुपथ मूल्य पसल खोेल्ने तयारीको विरोधमा पशुपति आर्यघाटमा शव जलाउने र क्रियापुत्री बस्नेहरु आन्दोलनमा उत्रिएका छन् ।
उनीहरुले शव जलाउने, दाउरा बोक्ने, चपरी काट्ने र किरियापुत्री बस्नेहरुले काम समेत गरेका छैनन् । अहिले शव लिएर आर्यघाटमा पुग्नेहरुले आफैं शव जलाउने प्रवन्ध गर्नुपर्ने बाध्यता छ ।
पशुपति क्षेत्र विकास कोषले हालै मात्र पशुपति सेवा उपभोक्ता संस्थान लिमिटेड नामक सहकारीलाई घाट सेवा पसल सञ्चालनको अनुमति दिएको थियो ।
उक्त सहकारीले माघ १ गतबाट पसल सुरु गर्ने तयारीपछि घाट सेवा पसल र कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । ‘एउटा मात्र पसल हुँदा बढी मूल्य परेको लगायतका गुनासो आएपछि हामीले सुपथ पसललाई अनुमति दिएका हौं’ पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टण्डनले अनलाइनखबरसँग भने ।
अर्को पसल खुल्दा एकाधिकार तोडिए भएपछि घाट सेवा पसल र घाट सेवामा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिएकोे कोषका अधिकारीले बताए । यद्यपि सदस्य सचिव टण्डनका अनुसार सहमतिका लागि वार्ताको प्रयास भइरहेको छ ।
आन्दोलनमा उत्रिएकाहरुले अर्को पसल सञ्चालन अनुमति खारेज गर्नुपर्ने, शवदाह गनर्ेे एवं घाट सेवामा कार्यरतलाई कोषको कर्मचारीसरह परिचयपत्र दिनुपर्ने माग गरेका छन् ।
यस्तै कर्मचारीबाट कटाएको १० प्रतिशतमा कोषले १० प्रतिशत थपेर दिनुपर्ने घाटका कर्मचारीले माग गरेका छन् ।






