अखिल क्रान्तिकारी संयोजक मल्ल पक्राऊ

२९ पुस, काठमाडौं । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा र नेकपा-माओवादीले आह्वान गरेको बन्दको क्रममा दर्जनौं नेता-कार्यकर्ता पक्राउ परेका छन् ।

पुरानो बसपार्कबाट नियन्त्रणमा लिएर नेपाल पुलीस क्लबमा पुर्‍याइएकाहरू । तस्वीर : रमेश मल्लको फेसबुक

एमाओवादी निकट अखिल क्रान्तिकारीका संयोजक रमेश मल्ल लगायतलाई पुरानो बसपार्कबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

मल्लसहित गणेश मैनाली, याम गिरी, दीपक पाण्डे, डीबी साउद, धिरज खनाल, इन्द्र सिलवाल, ललित थापालाई प्रहरीले पक्रेको हो ।

यसैगरी श्रीकुमार कठायत, जगदिश शाही, दिनेश रेग्मी, फणिन्द्र कार्की र विकास खप्तडीलाई पनि प्रहरीले पक्रेको छ ।

उनीहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ । पक्राउ परेकाहरुले प्रहरी दमन विरुद्ध नाराबाजी गरेका छन् ।

यसैगरी काठमाडौंको गोंगबुबाट कल्पना शर्मा लगायत केहीलाई प्रहरीले पक्रेको छ । यस्तै सविता भण्डारी सहित तीन जना प्रहरीको लाठिचार्जबाट घाइते भएका छन् ।

प्रहरीले मंगलबार विहान नारायणगोपाल चोक चक्रपथबाट संघीय समाजवादी पार्टीका उपमहासचिव अजम्बर काङमाङ, स्थायी समिति सदस्यहरु रमेश राई र कर्णबहादुर मगर, संघीय ट्रेड यूनियनका अध्यक्ष प्रचण्ड पौडेलसहित १२ जनालाई नियन्त्रणमा लिएको छ ।

यस्तै कोटेश्वरबाट १५ जना र चाबहिलबाट ८ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।