पक्राउ परेकालाई रिहा गर्न संघीय समाजवादीको माग

काठमाडौं २९ पुस । ३० दलीय गठबन्धनले आह्वान गरेको प्रस्तावित नेवाः र ताम्सालिङ राज्य बन्दमा पक्राउ परेकाहरुलाई रिहा गर्न संघीय समाजवादी पार्टीले माग गरेको छ ।

संघीय समाजवादी पार्टी काठमाडौं जिल्ला समिति संयोजक सानुराजा शाक्यले मंगलबार विज्ञप्ति निकालेर पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न माग गरेका हुन् । शान्तिपूर्ण प्रदर्शन गरिरहेकाहरुलाई प्रहरी प्रशासनले गरेको धरपडक र दमनको भर्तसना पनि गरिएको छ ।

मंगलबार विहान संघीय समाजवादी पार्टीका उपमहासचिव अजम्बर काङमाङ, स्थायी समिति सदस्यहरु रमेश राई र कर्णबहादुर मगर, संघीय ट्रेड यूनियनका अध्यक्ष प्रचण्ड पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी संघीय युवा संघका पूर्व अध्यक्ष नवराज गुरुङ, अग्रगामी विद्यार्थीका नेता संजय राई, गोपाल राई, यज्ञ कुमार राई लगायत नेता कार्यकर्ताहरुलाई पनि प्रहरीले पक्रेको छ ।

पक्राउ परेकाहरुलाई तत्काल रिहा गरी शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मानवअधिकारलाई सम्मान गर्न संघीय समाजवादीले माग गरेको छ .