काठमाडौं ९, असोज । एनआरएन एनसिसी साउदीका संस्थापक एवं पूर्व अध्यक्ष धरम केसीले गैर आवासीय नेपाली संघको सातौं अन्तराष्ट्रिय महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
साउदी अरबमा भएको एक कार्यक्रममा उनले उक्त घोषणा गरेका हुन् । खाडीमा विगत २३ वर्षदेखि रोजगाररत केसीले प्रवसी नेपाली श्रमिकहरूका हकहित, न्याय र सुरक्षाका लागि निरन्तर आवाज उठाउँदै आएका छन् । उनले आफू विजयी भएमा वैदेशिक रोजगारको संस्थागत विकास, लगानी, अधिकार र भुकम्प पछिको पुनर्निर्माणमा ठोस काम गरेर देखाउने प्रतिबद्धता जाहेर गरेका छन् ।
उम्मर्दवारी घोषणा कार्यक्रममा यस अघि नै मध्यपूर्व संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका कतारमा व्यवसाय गरिरहेका आरके शर्माले पनि धरम केसीको उम्मेदवारीको समर्थन गरेकाछन् । ‘हामी मिलेर जानुपर्छ र अबको कार्यकालमा ठोस काम गरेर देखाउनुपर्छ,’ उनले भने ।
कार्यक्रममा शुभकामना दिँदै एनआरएनएका मध्यपूर्वका पूर्व उप संयोजक राजु सैयद, पुर्व आइसिसी महिला सदस्य यास्मिन बेगम, एनसिसी साउदीका अध्यक्ष नारायण पासवान, संस्थापक सदस्य बिरेन्द्र चौधरी लगायत अन्यले केसीको उम्मेदवारीको समर्थन गर्दै उनलाई निर्विरोध निर्वाचित गराउनुपर्नेमा जोड दिए ।
सोही कार्यक्रममा विदेशमा अन्याय, ठगी र शोषणमा पर्ने नेपाली महिला तथा पुरूष कामदारहरूको न्याय र हक अधिकार तथा क्षतिपूर्तिका लागि निरन्तर बहस पैरवी गर्दै, उद्धार कार्यमा समेत मदत गरेको र अनियमितताबारे सरोकारवालाहरूको निरन्तर ध्यानाकर्षण र खबरदारी गरेकाले केसीलाई नेपाल मानव अधिकार तथा द्वन्द पीडित प्रतिष्ठानले मानव अधिकार सम्मान-२०१३ ले सम्मान गरेकव थियो ।






