चीनले आपूर्ति बढाउने संकेत

बेइजिङ ९, असोज । चीनले नेपालको संविधान बहुसंख्यक जनताबाट अनुमोदित भएको उल्लेख गर्दै सरसामानको आपूर्ति बढाउने संकेत दिएको छ । संविधान घोषणापछि भारतबाट अत्यावश्यक वस्तु आयातमा समस्या उत्पन्न भइरहेका बेला चीनले यस्तो संकेत दिएको हो ।

शुक्रबार बेइजिङमा चीनका लागि नेपाली राजदूत महेशकुमार मास्केसँगको भेटमा चिनियाँ कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभागका उपमन्त्री छन फङ सियाङले आफैं सहयोग प्रस्ताव राखेका हुन् । उनले नेपाललाई अप्ठ्यारो पर्दा सहयोग गर्न चीन सधैं तयार रहेको उल्लेख गर्दै चाडपर्वको समयमा नेपाली बजारमा सामान अभाव हुन नदिन चीनले तातोपानी र केरुङ दुवै नाका सुचारु गर्न गम्भीर कदम चाल्ने बताए ।
नेपालको नयाँ संविधानलाई ‘सबभन्दा बढी जनता सहभागी भएको संविधान’ भनेका उनले  ९० प्रतिशत जनप्रतिनिधिबाट पारित भएकाले यो अद्वितीय उदाहरणसमेत भएको भन्दै प्रशंसा गरेको राजदूत मास्केले बताए । अमेरिकाको संविधान तत्कालीन प्रतिनिधिमध्ये ५२ प्रतिशतको मात्र समर्थनमा पारित भएको र भारतको संविधानलाई पनि तत्कालीन प्रतिनिधिमध्ये ६५ प्रतिशतले मात्र समर्थन गरेको उदाहरण दिँदै नेपालका अत्यधिक जनप्रतिनिधिहरूद्वारा निर्माण गरिएको संविधानलाई चीनले सहर्ष स्वागत गरेको उपमन्त्री छनले बताए ।

नयाँ संविधानलाई चीनले स्वागत गरेकोमा राजदूत मास्केले नेपालको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए । भेटमा मास्केले अन्तर्राष्ट्रिय समुदायले नयाँ संविधानलाई स्वागत र समर्थन गरेको उल्लेख गर्दै नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे समेत जानकारी दिएका थिए । नेपालको तराई क्षेत्रमा भइरहेको आन्दोलन र असन्तुष्टिबारे चीनको धारणा पनि उपमन्त्री छनले व्यक्त गरेका थिए । उनले भने, ‘हामी नेपालमा शान्ति, स्थिरता, विकास, प्रगति र उन्नति चाहन्छौं । केही असन्तुष्टि भए नेपाल सरकारले त्यसको समाधान गर्नेछ । नेपाल सरकार र नेपाली जनताले गर्ने निर्णयमा चीनको सधैं स्वागत र समर्थन रहनेछ ।’

नेपालमा हुने राजनीतिक उतारचढावलाई आन्तरिक मामिला भन्दै कसैले पनि हस्तक्षेप गर्न नहुने कुरालाई उपमन्त्री छनले दोहोर्‍याएको राजदूत मास्केले बताए । नेपाल संक्रमणकालबाट मुक्त भई अगाडि बढेकोमा खुसी व्यक्त गर्दै उनले अब नेपालले आर्थिक विकासलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए । नयाँ सरकार बन्ने र त्यसले आर्थिक विकासलाई अगाडि बढाउने आशा चीनले लिएको बताउँदै उनले लामो समयपछि संक्रमणकालको अन्त्य गरेकोमा नेपाललाई बधाईसमेत दिए ।

नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा चिनियाँ सहयोग जारी रहने पनि उपमन्त्री छनले प्रतिबद्धता जनाए । एक घण्टाभन्दा लामो भेटमा यो वर्ष नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औं वार्षिकोत्सव परेकाले उच्चस्तरीय राजनीतिक भ्रमण आदानप्रदानबारे समेत छलफल भएको थियो । उपमन्त्री छनले उपयुक्त समयमा चिनियाँ नेतृत्वले नेपालको भ्रमण गर्ने भन्दै चीनले नेपाल सम्बन्धलाई उच्च प्राथमिकता दिएको स्पष्ट पारे ।