मधेसमा माधव, वामदेव र केपीले स्थानीय भाषामा भाषण गर्ने

२९ पुस, काठमाडौं । मधेसी मोर्चाले केपी ओलीमाथि मधेसीको अपमान गरेको भन्दै माफी माग्नुपर्ने बताइरहेकै बेला एमालेले ‘मधेस जागरण अभियान’ चलाउने भएको छ ।

अध्यक्ष केपी ओली, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेललाई तराई मधेसका चार ठाउँमा अभियानको नेतृत्व गरेर पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

‘यी चार नेता चयन गर्नुको भाषिक कारण छ । त्यहाँ हुने सभामा ओली तराईको राजवंशी भाषा बोल्छन्,’ स्रोतले भन्यो,’माधव नेपाल भोजपुरी र मैथिली दुबैमा भाषण गर्छन्, गौतम थारु भाषा बोल्छन् भने पोखरेल मैथिलीमा भाषण गर्न सक्छन् ।

केपी ओली तराईको झापा, नेपाल रौतहट र गौतम बर्दियाबाट संविधानसभा सदस्यमा निर्वाचित भएका हुन् ।

तराई मधेसका जनतालाई एमालेको नीति र मधेसका वास्तविक शोषणको अवस्थाका बारेमा जानकारी गराउन पार्टीले मधेस जागरण अभियान चलाउने स्थायी समिति सदस्य सत्यनारायण मण्डलले बताए ।

‘मधेसवादी भनिएका दलका नेताहरु पटक-पटक सत्तामा पुगेर अघाएकाहरुहुन्, तिनीहरुले मधेसका सामन्तहरुको मात्र प्रतिनिधित्व गर्छन्’ मण्डलले भने ‘एमाले अध्यक्ष ओलीले जुन अडान लिनुभएको छ, त्यो मधेसको हितमा छ’ ।

उनले तराईलाई पहाड र हिमालबाट अलग राखेर प्रदेश बनाए कहिल्यै विकास पनि नहुने र मधेसीको उन्नति पनि नहुने भएकाले आफूहरुले मधेसवादीको माग स्वीकार नगर्ने बताए ।

एमाले सचिव गोकर्ण विष्टले तराई मधेसमा पार्टीको बारेमा छरिएका भ्रम चिर्नका लागि र एमाले मधेसका श्रमिक जनताको पक्षमा रहेको सन्देश दिन त्यहीँ गएर कार्यक्रम गर्नुपर्ने आवश्यकता देखिएको बताए ।

‘संविधान निर्माणको अन्तिम कसरतमा रहेकाले माघ ८ अघि सम्भव हुन्छ कि हुँदैन त्यसबारे छलफल गर्नुपर्ने छ’ पूर्वमन्त्री बिष्टले भने ‘तराई मधेसको वास्तविक समस्यालाई ओझेलमा पारेर पहाडेले मधेसीलाई थिचोमिचो गरे भन्ने भ्रम फैलाउन खोजिको छ’ ।

एमालेको लोकतान्त्रिक मधेसी संगठनले अध्यक्ष ओलीलाई तराई मधेसमा लगेर एमालेमाथिका भ्रम चिर्ने प्रयास भइरहेको संगठनका अध्यक्ष रघुवीर महासेठले बताए ।

ओलीले पनि आफू संलग्न बैठकमा मधेसी मोर्चाका नेताहरु सहभागी नभए आफैं मधेस जाने प्रतिक्रिया दिएका थिए । बिराटनगर, जनकपुर, वीरगन्ज र बाँकेमा मधेस केन्दि्रत कार्यक्रमको तयारी भइरहेको एमाले स्रोतले जनाएको छ ।