प्रधानमन्त्रीले भने, ‘संविधान संशोधन गर्न तयार छौं, समस्या कहाँ हो मूर्त कुरा आउनुपर्‍यो’

kpविराटनगर,- प्रधानमन्त्री केपी शर्मा ओलीले मधेषका जायज मागलाई संविधान संसोधन गरेर पूरा गर्न सकिने भन्दै वार्तामा आउन मधेसी दलहरुलाई आग्रह गरेका छन् ।

विराटनगरमा निर्माण हुन लागेको तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको शनिबार शिलन्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘मूर्त कुरा आउनु पर्‍यो । कहाँ के हुनुपर्छ ? केमा चित्त बुझेन र के अन्याय भयो ? स्पष्ट कुरा ल्याए वर्तमान सरकार सबैलाई चित्त बुझाउन, न्याय दिन दृढ संकल्पित छ,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

मुलुकको अग्रगमन, विकास निर्माण र समृद्धिको गतिलाई अवरोध पुर्‍याउने र देशलाई विखण्डन गर्ने सोचबाट सबै मुक्त हुनुपर्ने भन्दै उनले त्यस्तो सोच कुनै पनि हालतमा पूरा हुन नदिने बताए ।

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले वर्तमान सरकार नयाँ सञ्चार नीति ल्याएर देशको सञ्चार क्षेत्रलाई मर्यादितएवं व्यवसायिक बनाउन लागि परेको बताए । उनले विराटनगरमा बन्ने तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम प्रेस जगतमा काम गर्नेहरुका लागि तालिम दिने, अनुसन्धान गर्ने थलोको रुपमा स्थापित हुने जानकारी दिए ।