काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्धको जन्मस्थल वरपरको पवित्र क्षेत्रको संरक्षण र विकास गरी लुम्बिनीलाई अन्तर्राष्ट्रिय रुपमै शान्ति नगरीका रुपमा विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सुलक्षण कीर्ति विहार चोभारकी प्रमुख डा अनोजा गुरुमालाई म्यानमा सरकारले ‘महासधम्म ज्योतिकध्वज सम्मान २०१६’ प्रदान गरेका अवसरमा आज विहार परिसरमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले भन्नुभयो– “विश्वका सम्पूर्ण बौद्ध धर्मावालम्बी तथा बुद्धको शान्ति, अहिंसा, भ्रातृत्व, सहिष्णुता र करुणा सिद्धान्तमा आस्था राख्ने सबैका लागि लुम्बिनी विशेष तीर्थस्थलका रुपमा रहनु भनेको हाम्रो लागि खुसीको कुरा हो ।”
बौद्ध दर्शनमा विद्यावारिधि लिने पहिलो नेपाली भिक्षुणी डा अनोजालाई म्यानमा सरकारले बौद्धधर्मको गहिरो अनुसन्धान र प्रचारप्रसारमा उल्लेखनीय योगदान पुर्याएबापत उक्त सर्वाेत्कृष्ट सम्मान प्रदान गरेको हो ।
बौद्ध दर्शनका अनुयायीले मन, वचन र कर्मद्वारा बुद्धको ज्ञान र सन्देशलाई अझ गहिरोसँग प्रवाह गर्न सकेमा मानव जीवनलाई अनुशासित, खुसी र समृद्ध बनाएर समाजलाई स्थायी शान्तितर्फ अग्रसर गराउन मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।






