लण्डन । तमुधिं यूकेको आयोजनामा अगस्ट २९ आइतबार हुने १२ औं नेपाली मेलाका लागि तयारी तिव्र बनाइएको छ।लन्डनको केम्पटन पार्क रेसकोर्समा आयोजना हुने मेलामा बेलायतस्थित दर्जनौं नेपाली संघसंस्थाका मौलिक एवम् सांस्कृतिक झांकीहरुको प्रस्तुति गरिनेछ ।
मेलास्थलमा राखिने नेपाली खाना, व्यवसाय तथा च्यारिटीका स्टल र युवाहरुको सांगीतिक प्रस्तुतिसहितका सांस्कृतिक कार्यक्रम पनि विशेष आकर्षण रहनेछन् ।
आयोजक तमुधिं यूकेले मेलाको पुरा तयारीबारे अगस्ट २२ तारिक पत्रकार सम्मेलन गरी जानकारी दिने भएको छ ।
तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङले मेलामा नेपालका प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, पर्यटकीय स्थल लगायतको प्रदर्शनी हुने बताए ।
१२ औं नेपाली मेलाका संयोजक एवम् उपाध्यक्ष हरि गुरुङले कार्यक्रममारे सक्दो बढी मानिसहरुको उपस्थिती गराउन प्रचारप्रसार व्यापक बनाएको बताए ।
तमुधिं यूकेद्वारा राजदूत रेग्मी तथा राजदूतावास परिवारलाई स्वागत तथा सम्मान
यसै बीच तमुधिं यूकेले तमु भवन आल्डरसट मिचेटमा १२ औं गोर्खा कप समिक्षा बैठकमा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी तथा राजदूतावास परिवारलाई स्वागत तथा सम्मान गरेको छ । 
सोहि अवसरमा तमु धि युकेले तमु धि लण्डन इकाईका अध्यक्ष बिष्णु गुरुङ उपाध्यक्ष, ललितमान गुरुङ उपाध्यक्ष,भरत गुरुङ आमा समुह कि अध्यक्ष श्रीमती कमला गुरुङ तथा निबर्तमान अध्यक्ष चन्द्रबहादुर गुरुङलाई समेत सम्मान गरिएको थियो ।
उक्त कार्यक्रम सफल पार्न तमुधिं लण्डन इकाईले पनि तिव्र तयारी बढाएको सल्लाहकार डेविड गुरुङले लन्डन नेपाल न्युजलाइ बताए ।
बेलायतबासी सबै नेपाली जातजाती, धर्म, सम्प्रदायका मानिसहरुको सामूहिक पर्वको रुपमा यस कार्यक्रमलाई प्रभावकारी बनाउने भन्दै उनले सबै बेलायतबासी नेपालीहरुलाई कार्यक्रममा सहभागि हुन् अपिल गरेका छन् ।नेपाली मेला तमुधिं यूकेको मात्र नभइ बेलायतका सम्पूर्ण नेपालीहरुको साझा कार्यक्रम रहेको बताउँदै डेबिडले सोहीअनुसारको सन्देश कार्यक्रमले दिने विश्वास व्यक्त गरे ।
तमुधिं लण्डन इकाईका अध्यक्ष विष्णु गुरुङले नेपाली मेला एक पर्वमा हाल सम्मकै सबैभन्दा ठूलो संख्यामा उपस्थिती बनाएर कार्यक्रम गर्ने गरी आफूहरुले समन्वय गरेको भन्दै नेपाली मेलालाई भव्य र सभ्य बनाउने अभियानमा सबै समय खर्च गर्ने बताए । कार्यक्रम सोचेजस्तै गरी सफल हुने उनको विश्वास छ ।
त्यस्तै उपाध्यक्ष भरत गुरुङले यो पर्वमा नेपाली कला, संस्कृतिको विशेष प्रवर्द्धन गरिने भएको भन्दै सबै नेपालीहरुलाई चुलै निम्तो दिइएको बताए ।
यता तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरुङले नेपाली मेलाका लागि तमुधिं लन्डन इकाईले खेल्दै आएको भूमिकाका लागि धन्यवाद प्रकट गरेका थिए ।
गत वर्ष महामारीका कारण रोकिएको मेलालाई यसपटक पनि विगतमा जस्तै व्यापक र भव्य बनाउने तयारीमा आयोजक संस्था लागि परेको छ ।






