लन्डन- बेलायतमा बस्दै आएका गुल्मेलीहरुको साझा संस्था गुल्मी जिल्ला समाज यूकेले दुई परिवारलाई ५०-५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
काठमाडौं डिल्लीबजारस्थित टाइम्स कलेजमा एक कार्यक्रमको आयोजना गरी समाजका महासचिव शिव भण्डारीले रकम हस्तान्तरण गरे । समाजले चम्ल्याहा सन्तानका बाबु जनक कुँवर र भारतमा श्रीमानको निधन भएपछि सहाराविहीन भएकी सीता भूसाललाई सहयोग गरेको हो ।
भूसाल भने कार्यक्रममा उपस्थित हुन नसकेकाले उनको रकम जैसिथोक समाज, गुल्मी काठमाडौंलाई हस्तान्तरण गरिएको छ । उक्त रकमबाट भूसालको आवास निमार्ण गरेर गुल्मी जिल्ला समाज यूकेलाई जानकारी गराउन भनिएको छ ।
जैसिथोक समाज, काठमाडौंको आयोजनामा भएको रकम हस्तान्तरण कार्यक्रममा बोल्दै समाजका महासचिव भण्डारीले मानवीय सहयोग र जिल्लाको विकासमा सहयोगलाई निरन्तरता दिने जानकारी दिए । उनले अघिल्लो वर्ष ९ वटा आयोजना पूरा भएको जानकारी दिंदै समाजको सहयोग सही ठाउँमा सदुपयोग गर्ने नीति रहेको उल्लेख गरे ।
जैसिथोक समाज, काठमाडौंका अध्यक्ष राजनप्रसाद पोखरेलले पीडित परिवारलाई सहयोग गरेकोमा बेलायतमा रहेका गुल्मेलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि आफ्नो जन्मस्थललाई कुन न कुनै रुपले साथ सहयोग पाइरहने विश्वास व्यक्त गरे ।
सचिव कृष्ण भण्डारीले सञ्चालन गरेको कार्यक्रममा ईन्द्र पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने पूर्व गाविस अध्यक्ष सुरेन्द्र पोखरेलले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा उपप्राध्यापक विष्णु पन्थीलगायतको उपस्थिति थियो ।







