पाँच राजनीतिक दलबाट उम्मेदवारको नाम सिफारिस

काठमाडौं– २०७४ मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन आयोगले पाँच राजनीतिक दललाई सम्बन्धित समावेशी समूहको प्रतिनिधित्व हुने गरी अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रमका आधारमा उम्मेदवार छनौट गरी निर्वाचित हुने उम्मेदवारको नाम सिफारिस गर्न तीन दिनको समय दिएकोमा सोमबार पाँचवटै राजनीतिक दलले उम्मेदवारहरुको नाम सिफारिस गरी आयोगमा पेश गरेका छन् ।

माघ २६ गते बसेको आयोग बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (५) बमोजिम केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिबाट निर्णय गरी ३ (तीन) भित्र अर्थात् सोमबार साँझ ५ बजे (कार्यालय समय) भित्र नामावली निर्वाचन आयोगमा पेश गर्न राजनीतिक दलहरुलाई समय दिएको थियो ।

सोमबार पेश गरिएका नामावलीलाई आयोगले समावेशी समूह र क्रम अनुसार मिले/नमिलेको जाँच गरी नमिलेका राजनीतिक दललाई सच्याएर ल्याउन पुन: दुई दिनको समय दिने कानुनी व्यवस्था छ ।